
२१ चैत, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झा द्वारा रचित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ को लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल पत्रकार महासङ्घ बागलुङले आयोजना गरेको ‘बागलुङ मिडिया मेला, २०८२’ मा गरेका हुन्।
साहित्य क्षेत्रमा विह्वल उपनामले परिचित धर्मेन्द्र झाले हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल हिमालपारिको मुस्ताङ जिल्लास्थित मुक्तिनाथदेखि समुद्र किनारस्थित जगन्नाथसम्मको यात्रा यस पुस्तकमा समेटेका छन्। मुक्तिनाथ सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकको रूपमा ‘जगन्मुक्ति’ रहेको जानकारी दिंदै उनले यसले मैथिली भाषीहरुलाई मुक्तिनाथबारे जान्न र बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
हालैका समयमा मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषीहरुको संख्या बढेको उल्लेख गर्दै झाले भने, ‘प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ। मुक्तिनाथ शालग्रामको प्रमुख केन्द्र हो।’ यात्राका क्रममा देखिएका विविध विषयवस्तुहरु यस पुस्तकका कुल १०२ पृष्ठमा समेटिएका छन् र महत्त्वपूर्ण विभिन्न तस्बिरहरू पनि समावेश गरिएको छ। झाका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद), ‘गोनु झाका कथाहरू’ लगायतका विविध कृति प्रकाशित छन्।






