
सरकारले आइतबार सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार नियमित कारोबार सञ्चालन गर्ने भएको छ। २०७९ जेठ १ देखि शनिबार र आइतबार विदा भएका बेला नेप्सेले पनि शुक्रबार बजार सञ्चालन गरेको थियो। हालसम्म शुक्रबार र शनिबार बजार बन्द हुँदै आएकोमा नयाँ व्यवस्थाले बजार सप्ताहमा पाँच दिन सञ्चालन हुने छ। २२ चैत, काठमाडौं। अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ। सरकारले आइतबार सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार नियमित कारोबार खोल्ने भएको हो। ‘सरकारले बिदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खुल्नेछ,’ नेप्सेका एक सञ्चालकले बताए, ‘विगतमा पनि शुक्रबार बजार खुलाएर आइतबार बन्द गरिएको उदाहरण छ। शुक्रबार खोल्न कुनै समस्या छैन, तर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।’ यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थानहरूलाई विदा घोषणा गरेपछि नेप्सेले पनि शुक्रबार बजार सञ्चालन गरेको थियो। त्यस बेला शनिबार र आइतबार बजार बन्द गरी सप्ताहमा ५ दिन नै सञ्चालन गरिएको थियो। यसपटक पनि बजार ५ दिन सञ्चालन गर्ने गरी नयाँ व्यवस्था लागू गरिने छ। हालसम्म शुक्रबार र शनिबार बजार बन्द हुँदै आएको छ। आजै मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो।






