
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा तीन व्यावसायिक फर्महरुलाई उपभोक्ता ठगी गरेको आरोपमा ४५ हजार रुपैयाँ जरिवाना तिराएको छ। शंकर खाद्य किराना स्टोर र एसडीआर स्टोरलाई समान २०–२० हजार रुपैयाँ र गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनमा अन्य ३६ फर्महरुलाई उपभोक्ता अधिकारबारे सचेत गराउँदै सामान्य निर्देशन दिइएको छ।
२४ चैत, काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको तीन व्यावसायिक फर्महरुलाई जरिवाना तिराएको हो। विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनमा दोषी फेला परेपछि ती तीन पसलहरुलाई ४५ हजार रुपैयाँ जरिवाना गरेको हो। काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा सञ्चालित शंकर खाद्य किराना स्टोर र एसडीआर स्टोरलाई समान २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी काठमाडौं–२६, गोंगबुस्थित गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। अनुगमन क्रममा अन्य ३६ फर्महरुलाई भने उपभोक्ता अधिकारबारे सचेत गराउँदै सामान्य निर्देशन दिइएको छ। काठमाडौंका नयाँ बसपार्क, चाबहिल, टोखा तथा ललितपुर चापागाउँ क्षेत्रमा सञ्चालित किराना पसल, फेन्सी स्टोर, मोबाइल पसल, कस्मेटिक पसल, खाद्य स्टोर लगायतका व्यवसायहरुलाई उपभोक्ता अधिकारबारे सचेत गराउँदै सामान्य निर्देशन प्रदान गरिएको छ।






