Skip to main content

धरानका मेयरले प्रधानमन्त्रीलाई पुरानो अस्पतालको जग्गा फिर्ता गर्न पत्र लेखे

समाचार सारांश धरान उपमहानगरपालिकामा नगर अस्पताल नहुँदा करिब २ लाख जनसंख्या बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि धाउन बाध्य छन्। पुरानो धरान अस्पतालको जग्गा बीपी प्रतिष्ठानको नाममा भएकाले नगर अस्पताल स्थापना गर्न विवाद चुलिएको छ र जग्गा फिर्ता माग भइरहेको छ। धरानका कार्यवाहक मेयर बेघाले प्रधानमन्त्रीलाई पत्र लेखेर पुरानो अस्पतालको जग्गा नगरपालिकामा फिर्ता गराउन अनुरोध गर्नुभएको छ। २५ चैत, धरान। करिब २ लाख जनसंख्या रहेको धरान उपमहानगरपालिकामा नगर अस्पताल छैन। सामान्य उपचारका लागि समेत नगरवासीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनु पर्ने बाध्यता छ। दैनिक ४ हजार बिरामी उपचारका लागि आउने यस अस्पतालमा सामान्य सेवा लिन दिनभर लाइन लाग्नुपर्ने अवस्था छ। स्वास्थ्य बीमा गरेका सर्वसाधारणका लागि बीपी प्रतिष्ठान नै पहिलो विन्दुको सेवा प्रदान गर्दै आएको छ। तर यो सेवा अब तीन महिना मात्र बाँकी छ। तीन महिनापछि बिमितहरूले कहाँ गएर प्रथम विन्दुको सेवा लिने भन्ने विषयमा अन्योल छ। तीन महिनापछि धरानका दुई लाख नागरिकले अन्यत्र सरकारी अस्पतालमा पुगेर प्रथम विन्दुको सिफारिस ल्याउनुपर्ने र बीपी प्रतिष्ठानले तोकेको शुल्क तिरेर उपचार सेवा लिनुपर्ने हुन्छ। स्वास्थ्य बीमाअन्तर्गत प्रथम विन्दुको सिफारिस गर्ने सरकारी अस्पताल नगरभित्र नहुँदा अहिले पुरानो धरान अस्पतालको जग्गा विवादमा आएको छ। राणाकालमै स्थापना भई अहिले खण्डहर भएको धरान अस्पतालको जग्गामा नगर अस्पताल बनाउने प्रस्ताव आएपछि जग्गाको विवाद चुलिएको हो। धरान अस्पतालको जग्गा हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा छ। धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) लाई चन्द्र संस्कृत माध्यमिक विद्यालयमा मर्ज गरी त्यहाँ धरान नगर अस्पताल सञ्चालन गर्ने कुरा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट सार्वजनिक भएपछि जग्गाको चर्चा फैलिएको हो। राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिक अगुवाहरूले उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघालाई धरान अस्पतालको जग्गा फिर्ता ल्याएर नगर अस्पताल स्थापना गर्न दबाब दिइरहेका छन्। धरानका अधिकांश सरोकारवालाहरूले पुरानो अस्पतालकै जग्गा नगरपालिकामा फिर्ता ल्याएर त्यहीँ नगर अस्पताल निर्माण गर्नुपर्ने माग राखेका छन्। भकारी स्कुलमा अस्पताल चलाउने प्रस्तावप्रति आशंका व्यक्त गर्दै सरोकारवालाहरूले पुरानो अस्पतालको जग्गाको स्वामित्व फिर्ता गर्नका लागि आवश्यक मन्त्रालय जानका लागि आफ्नै खर्चमा जान र आन्दोलन गर्न तयार रहेको बताएका छन्। नागरिक समाजको सुझावपछि धरानका कार्यवाहक मेयर बेघाले भने, ‘पुरानो अस्पताल रहेको स्थानमै नगर अस्पताल बन्नुपर्छ भन्ने म पनि पक्षमा छु। तर २०७४ सालमा उक्त जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा लगिएको यथार्थलाई भुल्न सकिँदैन।’ पुरानो धरान अस्पतालको जग्गा राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा १९९२ सालमा समाजसेवी सुब्बा रत्नप्रसाद श्रेष्ठले उपचार सेवा सहज बनाउन कलकत्ताबाट चिकित्सक ल्याए। सुब्बा रत्नप्रसादलाई धरान बजार विस्तारकका रूपमा मानिन्छ। चिकित्सक आएपछि छाताचोक नजिकै रहेको जग्गामा धरान अस्पताल बनाउने निर्णय भयो। स्थानीय समुदायले अस्पतालका लागि जग्गा दान गरे। सुरुमा सानो अस्पताल सञ्चालनमा आयो। दान गरिएको जमिनको क्षेत्रफल कति थियो भन्ने कुनै ठोस रेकर्ड छैन, तर अहिले एक बिघा १३ कट्ठा जग्गा श्रेष्टामा देखिन्छ। सन् १९५० को दशकमा उक्त अस्पताल सरकारी अस्पताल घोषणा गरियो। स्थानीय जानकार डा. राजेन्द्र शर्माले भने, ‘सन् १९७० मा उक्त जग्गा धरान अस्पतालको स्वामित्वमा जान नापी गरियो।’ सन् १९९३ देखि धरानमा बीपी प्रतिष्ठान सञ्चालनमा आएपछि धरान नगर अस्पतालका सेवा पनि बीपी प्रतिष्ठानमा सारिए। स्वास्थ्य मन्त्रालय मातहत संचालन भएकाले जग्गाको स्वामित्व पनि स्वास्थ्य मन्त्रालयमा सारिएको थियो। राणा सरकार र सर्वसाधारणको पहलले चलाइएको अस्पताललाई विराटनगरका धनाढ्य जगन्नाथ डेढराजको परिवारले २०२६ साल माघ १८ गते रु २ लाख ११ हजार दान गरेर मातृसेवा सदन (प्रसूति भवन) निर्माण गरिदिए। शिलान्यास तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले गरेका र उद्घाटन २०२९ जेठ ७ मा तत्कालीन रानी ऐश्वर्यले राजा वीरेन्द्रको उपस्थितिमा गरेका थिए। अहिले उक्त भवन खण्डहर अवस्थामा छ। त्यस अस्पताललाई स्तरीकृत गर्दै पूर्वाञ्चल क्षेत्रीय अस्पतालको रूपमा विकास गरियो। सन् १९९३ मा बीपी प्रतिष्ठान स्थापना भएपछि क्षेत्रीय अस्पताल विराटनगर लगियो। अस्पतालसँग सम्बन्धित मेसिनरी र जनशक्ति पनि त्यहाँ सारियो। धरान अस्पताल बिर्सँदै गएका नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल र नगरवासी भए। जग्गा सदुपयोगविहीन भयो, कतिपयले अतिक्रमण गरेर घर बनाए। प्रसूति भवन खण्डहर भयो र झाडीले भरिएपछि लागुऔषध दुर्व्यसनी र अवाञ्छित गतिविधिको स्थल बन्यो। धरानमा सरकारी नगर अस्पतालको आवश्यकता देखिँदै छाताचोकमा रहेको पुरानो अस्पतालमै नगर अस्पताल सञ्चालन गर्न तयारी भइरहेको बेला मात्र स्वास्थ्य मन्त्रालयले २०७४ सालमै जग्गा बीपी प्रतिष्ठानको नाममा स्थानान्तरण गरेको थियो भन्ने कुरा सार्वजनिक भयो। अहिले नगर अस्पताल सञ्चालनका लागि जग्गा नगरपालिकाको स्वामित्वमा फिर्ता ल्याउन सरोकारवालाहरूले धरानका कावा मेयर बेघालाई दबाव दिइरहेका छन्। मेयर बेघाले बीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठलाई जग्गा फिर्ता गर्न आग्रह गरे। तर उपकुलपति श्रेष्ठले फिर्ता गर्ने हैसियत नरहेको बताएका छन्। उपकुलपति श्रेष्ठ सुब्बा रत्नप्रसादका नाति हुन् जसले राणाकालमै कोलकाताबाट चिकित्सक ल्याएर धरानमा आधुनिक स्वास्थ्य सेवा सुरु गरेका थिए। बेघाले प्रधानमन्त्रीलाई पत्र लेखे नागरिक समाजको दबावपछि धरानका कावा मेयर बेघाले प्रधानमन्त्री बालेन्द्र शाहलाई धरान नगर अस्पताल स्थापनाका लागि पुरानो जग्गा फिर्ता गर्ने व्यवस्था मिलाइदिन पत्र लेखेका छन्। प्रधानमन्त्रीको सचिवालयले पत्र प्राप्त गरेको जानकारी दिएको छ। नागरिक समाज र बुद्धिजीवीका तर्फबाट डा. राजेन्द्र शर्माले पुरानो अस्पतालको जग्गामा धरान अस्पताल निर्माण गर्न मन्त्रालय वा मन्त्रिपरिषद्को निर्णय आवश्यक हुने सुझाव दिएपछि बेघाले प्रधानमन्त्रीलाई सम्बोधन गरी पत्र लेखेका थिए। पुरानो धरान अस्पतालको जग्गा बीपी प्रतिष्ठानको नाममा भएकाले यसलाई धरान नगर अस्पतालको नाममा फिर्ता गर्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ। बेघाले भने, ‘स्वास्थ्य सेवाबाट कसैले वञ्चित नहोस भन्ने उद्देश्यले पुरानो अस्पतालको जग्गा उपलब्धि गराउन अनुरोध पत्र पठाइएको हो।’ मन्त्रिपरिषद्को २०७५ साउन ११ गतेको निर्णय अनुसार उक्त जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा नामसारी भएकोले कानुनी समस्या आएर आवश्यक व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग अनुरोध गरिएको छ। बेघाले थपे, ‘यो विषयमा धरानको प्रतिनिधिमण्डल काठमाडौं जान तयार हुँदैछ। जग्गा फिर्ताको निर्णय मन्त्रिपरिषदबाट मात्र सम्भव भएकाले प्रधानमन्त्रीसम्म पुग्न पत्र लेखिएको हो।