Skip to main content

चलचित्र ‘परालको आगो’ मा समावेश ‘निम्तो सुपारी’ गीतमा प्रकाश सपुत र सुहाना थापाको जोडी

लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमा रिलिज भएको छ। यस गीतमा सत्य र मेलिना राईको स्वर, सुरेन्द्र रानाको शब्द रचना र रामजी लामिछानेको नृत्य निर्देशन छ। चलचित्र ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शनको तयारीमा छ र यसमा किशोर भण्डारी, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौं। लक्ष्मण सुनार निर्देशित चलचित्र ‘परालको आगो’ मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युब मार्फत रिलिज भएको छ। सत्य-संगीत संयोजन रहेको यस गीतमा सत्य र मेलिना राईले स्वर दिएका छन्। गीतको शब्द सुरेन्द्र रानाले रचना गरेका हुन्। गीतमा प्रकाश सपुत र सुहाना थापा जोडीका रूपमा प्रस्तुत छन्। सौगात मल्ल र सिर्जना अधिकारीलाई पनि जोडीको रूपमा देखाइएको छ। उनीहरूको केमेस्ट्रीले गीतलाई अझ आकर्षक बनाएको छ।

ग्रामिण परिवेशमा छायांकन गरिएको गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन्। यसअघि फिल्मको ‘उडि जाऊँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ चर्चा बटुलेको थियो। गुरुप्रसाद मैनालीको पुस्तक ‘परालको आगो’ बाट प्रेरित यो चलचित्रमा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मञ्जिल बानियाँले अभिनय गरेका छन्। चलचित्रलाई हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेका हुन्। ‘परालको आगो’ फिल्म ११ बैशाखदेखि प्रदर्शनको तयारी अवस्थामा छ।