Skip to main content

आज केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना

२९ चैत, काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। यसको कारणले देशका विभिन्न भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा सामान्यतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली हुनसक्ने र तराईका क्षेत्रमा मौसम प्राय: सफा रहनेछ।

कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। त्यस्तै, आज राति हिमाली भेगमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना उल्लेख गरिएको छ। वर्षा र हिमपात हुने सम्भावना भएका स्थानका सर्वसाधारण तथा त्यहाँका यातायात साधन सञ्चालक लगायत सबैलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।