जिग्री र काकुबीच सहकार्य पक्का, दुवैले मिलेर फिल्म ‘चिरञ्जीवी भवः’ निर्माण गर्ने

कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ बीच पुनः सहकार्य हुने फिल्म ‘चिरञ्जीवी भवः’ को निर्माणको घोषणा गरिएको छ। फिल्मको स्क्रिप्ट अन्तिम ड्राफ्टमा पुगेको छ र डेढदेखि दुई महिनाभित्र छायांकन तयारी सुरु हुने कुमारले जानकारी दिए। यो फिल्म दुई पुस्ताबीचको कथा समेट्ने सोसल ड्रामा हुनेछ। काकुले निर्देशन गर्नेछन् भने जिग्रीले कथा लेखनमा सम्हाल्नेछन्।
काठमाडौं। टिभी श्रृंखलाका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ बीच पुनः सहकार्य पक्का भएको छ। ‘सक्किगो नि’ सिरियल सकिएपछि यी दुवैले अलग-अलग फिल्म निर्देशन गरेका थिए। काकुले निर्देशन गरेको ‘परान’ २०८२ सालकै सबैभन्दा बढी आम्दानी गर्ने फिल्म हो भने जिग्री ब्रोको ‘लाज शरणम्’ ले पनि राम्रो कमाइ गरेको थियो।
फिल्म निर्देशनका क्रममा अलग देखिएका यी दुई कलाकारबीच पुनः सहकार्य सम्भव भएको छ। उनीहरूद्वारा निर्माण हुने फिल्म ‘चिरञ्जीवी भवः’ को घोषणा नयाँ वर्ष २०८३ को अवसर पारेर सामाजिक सञ्जालमार्फत गरिएको हो। अहिले स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भइरहेको छ र छायांकनका लागि आगामी डेढदेखि दुई महिनाभित्र तयारी सुरु हुने कुमारले बताए।
फिल्मले दुई पुस्ताबीचको अन्तरंग कथा प्रस्तुत गर्नेछ। कुमारले भने, ‘यो वर्तमान समयको कथा हो। दुई पुस्ताबीच के मिसिएको छ, के हराएको छ र के कुराहरू अतिनै आवश्यक छन्, ती सबै यस कथामा झल्किनेछन्।’ यो दुवै कलाकारको दोस्रो निर्देशनात्मक परियोजना हुनेछ। काकुले निर्देशन सम्हाल्नेछन् भने जिग्रीले कथालेखनमा योगदान दिनेछन्। जिग्रीले थपे, ‘बीचमा अलग देखिएता पनि हामी सँगै थियौं।’
उनका अनुसार, यो फिल्म सामाजिक नाटक (सोसल ड्रामा) जनरामा निर्माण हुनेछ। हाल निर्माता र कलाकार चयन प्रक्रियामा छैनन्। स्क्रिप्टलाई न्याय गर्न सक्ने कलाकारहरुलाई मात्र कास्ट गरिनेछ। जिग्री ब्रो र काकुले विगत ८ वर्षदेखि ‘भद्रगोल’, ‘सक्किगो नि’ लगायतका टिभी सिरिजहरूमा सहकार्य गरिरहेका छन्।






