
२ वैशाख, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले ठूलो पराजय व्यहोरेपछि अहिलेसम्म पार्टीले संस्थागत समीक्षा गर्न सकेको छैन, तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता भने तीव्र बनेको छ। २१ फागुनमा भएको निर्वाचनपछि भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तीन पटक भेटिसकेकी छन्। गत आइतबार भण्डारी महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर ओलीलाई भेट्न पुगेकी थिइन्। यसअघि १६ चैतमा पनि भण्डारीले ओलीसँग भेटवार्ता गरेकी थिइन्। १४ चैतमा ओली पक्राउ पर्नुअघि पनि भण्डारीले उनलाई भेटेकी थिइन्। १ चैतमा ओलीलाई भेट्न गुँडु पुगेकी भण्डारीका ती तीन भेटका प्रसंग अलग छन्। २७ फागुनमा ओलीका पिताको निधन भएपछि भण्डारीले ओलीलाई समवेदना व्यक्त गर्न गुन्डु पुगेकी थिइन्। दोस्रो भेट ओलीको गिरफ्तारीसँग सम्बन्धित थियो। २९ चैतमा भएको भेट भने ओलीले पित्तथैलीको शल्यचिकित्सा गराउने तयारीका सन्दर्भमा भएको थियो। ती तीन भेटमा भण्डारीले ओलीलाई सहानुभूति मात्र प्रकट गरेकी छैनन्, पार्टीको संकटबारे पनि छलफल भएको स्रोतले जनाएको छ।
भण्डारीले ओलीलाई भेटेर पार्टी पुनर्गठनको प्रस्ताव राखिसकेकी छन् र एमालेका नेताहरु संग भेटघाटलाई पनि तीव्र बनाएकी छन्। गत आइतबारको भेटवार्तामा ओली र भण्डारीबीच निर्वाचनको पराजय, राष्ट्रिय राजनीति र निकासबारे लामो छलफल भएको थियो। स्रोतअनुसार, भण्डारीले एमालेको संकट समाधान गर्ने उपायका रूपमा पुनर्गठनको प्रस्ताव राखेकी थिइन्। ओलीको नेतृत्वमा एमाले पुनरुज्जीवित हुन नसक्ने भन्दै भण्डारीले पुनर्गठनको आवश्यकतालाई जोड दिएकी छन्। तर, ओलीले भण्डारीको प्रस्तावमा सकारात्मक प्रतिक्रिया भने देखाएका छैनन्।
भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने, “भेट्न आउनेहरुसँग भेटघाट भइरहिरहेको छ।” भण्डारीले शीर्ष नेताहरुसँगको संवादलाई निरन्तरता दिइरहेकी छन्। चैत दोस्रो साता भण्डारीले एमालेका पदाधिकारीहरूलाई आफ्नै निवासमा बोलाएर छलफल गरेकी थिइन्। उक्त छलफलमा सहभागी अधिकांश नेताहरु पार्टी पुनर्गठनको निष्कर्षमा सहमत भएका छन्। ओली अस्पतालबाटै पार्टीका गतिविधि अघि बढाइरहेका छन्, तर भण्डारीले पार्टी पुनर्गठनको विषयलाई पार्टी बाहिरका वृत्तसम्म पुर्याइसकेको देखिन्छ।






