Skip to main content

शरीरको प्रतिरक्षा प्रणालीमा समस्या हुँदा जन्मिने रोगहरूको पहिचान र उपचार

डा. धर्मागत भट्टराईले नेपालमा दुर्लभ इम्युन रोग एआरपीसी वान बी डिफिसीएन्सीको मुख्य वंशाणुगत त्रुटि पत्ता लगाउनुभएको छ। नेपालमा २४ जना बिरामीहरूमा उक्त रोग भेटिएको छ र ५ बालबालिकाको मृत्यु भइसकेको छ। नेपालमा इम्युनोलोजी विशेषज्ञको कमी, परीक्षण सुविधा अभाव र जनचेतनाको कमीले रोगको पहिचान र उपचारमा समस्या हुन पुगेको छ। नेपालमा रोग कमजोर भएर देखिने समस्या र सङ्क्रामक रोगको सही पहिचान तथा उपचार गर्ने विशेषज्ञको कमी छ। यसले गर्दा दीर्घरोग भएका बालबालिका, किशोरकिशोरी तथा जेनेटिक समस्या भएका वयस्कहरूमा कारण नबुझी असंतुलित निदानमा मात्र औषधि दिइन्छ। जसले अंगभंग र ज्यान जानेसम्मको अवस्था निम्त्याउँछ। हाम्रो देशमा यी रोगबारे जनचेतनाको अत्यन्तै अभाव छ।

डा. धर्मागत भट्टराई नेपालका इम्युनोलोजीका एक मात्र विशेषज्ञ हुन्, जो बालबालिकामा देखिने जटिल तथा दीर्घकालीन रोगहरूको इम्युनोलोजी विज्ञानमा वकालत गर्दै हुनुहुन्छ। उहाँले ६० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा अनुसन्धान प्रकाशित गरेका छन् र इम्युन–एक्टिनोप्याथी रोगमा विश्वभरि जानिन्छन्। उहाँको नेतृत्वमा गरिएको अनुसन्धानले दुर्लभ इम्युन रोग एआरपीसी वान बी डिफिसीएन्सीको मुख्य वंशाणुगत त्रुटि पत्ता लगाएको छ, जसले यो रोग नेपाली भूमिमा उत्पन्न भएको पुष्टि गर्दछ। यो अध्ययन प्रतिष्ठित ‘क्लिनिकल रिभ्यू इन एलर्जी एन्ड इम्युनोलोजी’ जर्नलमा सन् २०२५ को जुलाई १६ मा प्रकाशित भएको थियो। हालसम्म विश्वभरि ६४ जना बिरामी पत्ता लागेका छन्, जसमा २४ जना नेपालमै छन् र पाँच बालबालिकाको मृत्यु भइसकेको छ।

इम्युनोलोजी प्रतिरक्षा विज्ञान हो जसले शरीरको बाहिरी तथा आन्तरिक रोगसँग लड्ने प्रणालीको अध्ययन गर्छ। शरीरमा रहेको समष्टिगत प्रणालीलाई प्रतिरक्षा प्रणाली भन्छन्। म अक्सर देशको सेनासँग तुलना गरेर बुझाउँछु -जस्तै देशलाई आक्रमणबाट बचाउन सेना, हतियार प्रयोग गर्ने जसरी शरीर भित्र पनि जीवाणु, भाइरस र क्यान्सर कोषिकाहरूलाई नष्ट गर्ने अद्भुत प्रणाली प्रतिरक्षा प्रणाली हो। इम्युनोलोजीले इम्युन कमी, एलर्जी तथा सङ्क्रामक रोगहरूलाई समेट्छ। प्रत्येक २५० देखि १००० जनामा एकजनामा केही न केही इम्युन कमी या असंतुलन हुने हुन्छ।

नेपालमा इम्युनोलोजीक रोगहरू कस्ता छन् र अवस्था कस्तो छ? सन् २०२० मा म विद्यावारिधि पूरा गरेर नेपाल फर्किएको थिएँ भने त्यसअघि देशमा इम्युनोलोजी रोगबारे जनचेतना निकै कम थियो। म एकल पहलबाट सातै प्रदेशमा जनचेतना फैलाउँदै छु र केही मेडिकल कलेजहरूमा प्रशिक्षण पनि दिइरहेको छु। अहिले केही बालरोग विशेषज्ञहरूले पनि रोग पहिचान गर्न थालिसकेका छन्। हाल नेपालमा बाथ रोग विशेषज्ञ करिब दुई दर्जन मात्र छन् र बालबालिकामा विशेषज्ञ कहिल्यै नभएका कारण धेरै बिरामीहरू गलत उपचार र अपूर्ण निदानमा परिरहेका छन्।

नेपालमा इम्युनोलोजीको उपचार खर्च र पहुँच कस्तो छ? इम्युन डेफिसिएन्सी पत्ता लगाउँदा खुशी र कठिनता दुबै हुन्छन्। किनभने उपचार महँगो र जटिल हुन्छ। जस्तै एआरपीसी-वान-बी डेफिसिएन्सी रोगमा दैनिक तथा मासिक औषधि अनिवार्य हुन्छ, जसको मूल्य नेपालमा एक बोतल १५ देखि २० हजार रुपैयाँसम्म पर्छ। सप्लिमेन्ट र माइकोफेनोलेटजस्ता औषधिहरू थपिन्छन्, जसले महिनाको खर्च ४० देखि ५० हजार रुपैयाँसम्म पुर्‍याउन सक्छ। यो अधिकांश नेपालीको पहुँचभन्दा बाहिर छ।

सरकारले इम्युनोलोजी सेवा विस्तारका लागि के कदम चाल्नुपर्छ? सरकारले हृदय रोग केन्द्रजस्तै दुर्लभ रोग तथा इम्युनोलोजी अध्ययन र उपचार केन्द्र स्थापना गर्न सक्छ। नेपालमै बोन म्यारो ट्रान्सप्लान्ट सेवा विस्तार गर्न सकिन्छ। तर एउटा व्यक्तिले मात्र सम्भव छैन, मेडिकल शिक्षण संस्थाले इम्युनोलोजी संकाय अपनाउनुपर्छ र शिक्षण सुरु गर्नुपर्छ।