Skip to main content

बुटवलमा व्यवसायीमाथि नगर प्रहरीले गरेको बल प्रयोगको विरोध

बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने क्रममा व्यवसायीमाथि बल प्रयोग, हातपात र सामान जफत गरेको आरोप लगाइएको छ। चार व्यावसायिक संस्थाहरूले उपमहानगरको बल प्रयोग र विना अभिलेख सामान जफत गर्ने कार्यको विरोध गर्दै स्पष्ट मापदण्ड बनाउन माग गरेका छन्। नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले फुटपाथ मिचेर राखिएका सामान मात्र उठाएको र आफूहरूमाथि विरोध गर्दा प्रतिकार गरेको दाबी गरेका छन्। ६ वैशाख, बुटवल।

बुटवल उपमहानगरपालिकाले केही दिनदेखि फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको छ। अतिक्रमण हटाउने क्रममा नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग, हातपात, र सामान जफत गरेको विभिन्न भिडियोहरू सार्वजनिक भइरहेका छन्। नगर प्रहरीले पसल सञ्चालकमाथि जबरजस्ती सामान उठाएको, धकेलामुढा गर्दा मुक्का प्रहार गरिएको र औंलासमेत भाँचिएको व्यवसायीहरूले बताएका छन्। उनीहरूको तर्क अनुसार मापदण्डविना बल प्रयोग, हातपात र विना अभिलेख सामान जफत गरिएको छ। महँगी र व्यवसाय मन्दीको कठिन अवस्थामा उपमहानगरले व्यवसायीको मनोबल गिराएको तिनीहरूको आरोप छ।

राममन्दिर लाइनस्थित सिटी ब्याग हाउसका सञ्चालक विजय रायमाझीले आफ्नो पीडा सुनाउँदै भने, फुटपाथमा अतिक्रमण नगरेको पसलमा सटरमाथिको अस्थायी पाली (सनसेट पर्दा) टाँगेको भन्दै नगर प्रहरीले हातपात गर्दै सामान जबरजस्ती झिकेको छ। उनी भन्छन्, नगर प्रहरीसँगको झगडामा मुक्का लागेर दाहिने हातको औंला भाँचिएको र माइकिङमा सनसेट पर्दा राख्न नपाइने सूचना नपाएको बताएका छन्।

‘राज्यलाई कर तिरेपछि पनि उपमहानगरले अपराधी जस्तो व्यवहार गर्‍यो, अब व्यवसाय गरौं या बन्द गरेर विदेश जाऔं भन्ने दुईभावमा परेको छु,’ उनले भने। ‘उपमहानगरले अभिभावकको भूमिका गर्ने भनेको उल्टो कुटपिट गर्‍यो, सुरक्षा सुनिश्चित भएन।’ हिमालय फोम हाउसका मोहम्मद मुस्तफाले उपमहानगरले फुटपाथ व्यवस्थापनको नाममा राणा शासन शैलीमा दमन गरेको र सामान विना अभिलेख जबरजस्ती उठाइएको गुनासो गरे। उनी भन्छन्, ‘माइकिङ भएपनि फुटपाथ र सामान राख्ने मापदण्ड स्पष्ट हुन सकेन। उपमहानगरले बुझाउनु पर्ने थियो।’

चार व्यावसायिक संस्थाहरूको ध्यानाकर्षण: फुटपाथ खाली गराउने क्रममा व्यवसायीमाथि जबरजस्ती सामान हटाइएपछि बुटवलका चार प्रमुख व्यावसायिक संघसंस्थाहरूले विरोध जनाएका छन्। रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका कृष्णप्रसाद पराजुली र उद्योग व्यापार संघ बुटवलका लोकनाथ पन्थीले संयुक्त प्रेस विज्ञप्तिमार्फत उपमहानगरको बल प्रयोग र विना अभिलेख सामान जफत गर्ने कार्यको विरोध जनाएका छन्।

नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले फुटपाथ मिचेर राखिएका सामान मात्र उठाएको र आफूमाथि हातपात भएपछि प्रतिकार गरेको बताएका छन्। अभियान अझै केही दिन चल्ने र कति सामान जफत भयो भनेर तथ्यांक तयार नभएको पनि उनले बताए। ‘माइकिङ गरेर, सडक मिचिएको ठाउँबाट सामान उठाएका हौं। नगर प्रमुखको आदेश पालना गरेका छौं। हातपात भएपछि प्रतिकार गरेका छौं,’ पाण्डेले भने।