
यससँगै दुई खेलको टी–२०आई शृंखला एक–एकको बराबरीमा टुंगिएको छ। ८ वैशाख, काठमाडौं। यूएईसँगको दोश्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो। यससँगै दुई खेलको टी–२०आई शृंखला बराबरीमा टुंगिएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। कुशलले ५७ बलमा ८४ रन बनाएर अविजित रहे। उनले १२ चौका र २ छक्का प्रहार गरेका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा २३ रन बनाएर अविजित रहे। ओपनर कुशल मल्ल १९ बलमा र सन्तोष यादव १ रन जोडेर आउट भए।
बलिङमा यूएईका मोहम्मद अरफान र निलंश केसवानीले एक–एक विकेट लिए। त्यसअघि टस हराएपछि ब्याटिङ गर्न पुगेको यूएईले निर्धारित २० ओवरमा ८ विकेट गुमाउँदै १२८ रन तयार पारेको थियो। यूएईका अक्षदीप नाथले अर्धशतक प्रहार गरेका थिए। ४८ रन पूरा हुँदा ६ विकेट गुमाएर संकटमा पुगेको यूएई ब्याटिङलाई अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो। नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए। नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए। कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र तनभीर पनि ० रनमा आउट भएका थिए। बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एक–एक विकेट लिए।






