
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा सरकारी नम्बरको गाडीले ठक्कर दिदा एकजना पैदलयात्रीको मृत्यु भएको छ। बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो। दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।
गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको उक्त गाडीले चितवनको भरतपुर महानगरपालिका–२५ का श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको जानकारी पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले दिनुभएको छ।
दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी राखेको छ। गाडी तीव्र गतिमा थियो र गाडी भित्र बियरको कार्टुन फेला परेको छ। ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को रहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी तीव्र गतिमा गुडिरहेको थियो। एउटा लेनमा रहेको गाडी अर्को लेनमा करिब एक सय मिटर अगाडि पुगेर मात्र रोकिने अवस्थामा थियो। दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरूले उद्धार गरेका थिए। घाइतेलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको थियो। गाडीमा अरु कोही थिए कि थिएन भन्ने तथ्य अझै पत्ता लागेको छैन।






