Skip to main content

आईजीपी कार्कीको निर्देशन: सेवा प्रदानमा कुनै कमजोरी नहुने सुनिश्चित गरियो

९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली, व्यवहार र आचारसंहितालाई आत्मसात गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी वा कमजोरी नहुन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट बुधबार विभिन्न समसामयिक विषयहरूमा प्रहरी कर्मचारीहरूलाई निर्देशन तथा सम्बोधन गर्दै महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन्।

महानिरीक्षक कार्कीले सरकारले लागू गरेका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रत्येक जिल्लामा कुनै अपराध नहोस् भनेर सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्न तथा आवश्यक सुरक्षा रणनीति अपनाएर प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए। लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन र सेवनकर्ताहरुलाई सुधारात्मक कार्यक्रममार्फत लक्षित गरी प्रहरीले थप क्रियाशील हुनुपर्ने उनको भनाइ छ।

सीमाना नाकामा हुनसक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रणमा ‘शून्य सहनशीलता’ नीति अपनाउन प्रहरीलाई उनले निर्देशन दिए। गुण्डागर्दी विरुद्ध थप कडा र निर्मम रूपमा कारबाही गर्न, फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउमा तत्परता देखाउन उनले जोड दिए।

प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता र प्रभावकारिता बढाउनु आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म प्रहरीको छवि सुदृढ बनाउनका लागि सबै प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता देखाउँदै जिम्मेवारीमा कटिबद्ध हुनुपर्ने बताए।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राख्न र नागरिक सुनुवाइको माध्यमबाट उचित जानकारी प्रवाह गर्नुपर्ने भन्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनका उद्देश्य र लक्ष्य प्राप्तिका लागि सबै प्रहरी कर्मचारीहरू प्रतिबद्ध हुनुपर्ने बताए। गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरीले पनि कानुनी कारबाहीको दायरामा पर्नुपर्ने उनको भनाइ रहेको छ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको उपस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसर तथा कार्यालय र मातहत मुद्दा चल्ने इकाईका कार्यालय प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी थिए।