विद्यार्थी भर्ना ११ वैशाखदेखि, नियमित कक्षा १५ वैशाखदेखि सुरु गर्ने निर्णय

काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरू गर्न र १५ वैशाखदेखि नियमित कक्षा सञ्चालन गर्न सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ। मेयर्स फोरमले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्दै विद्यालय सञ्चालनका लागि यस्तो निर्णय ल्याएको जनाएको छ।
इन्धन संकटलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र अनलाइन कक्षा लगायत वैकल्पिक उपायको तयारी गर्न मेयर्स फोरमले सुझाव दिएको छ। ९ वैशाख, काठमाडौं। मेयर्स फोरमको बैठकले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर निर्णय गरेको हो।
‘नेपाल सरकारले हालै गरेको निर्देशनलाई समेत मध्यनजर गर्दै शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालनका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरू गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न/गराउन काठमाडौं उपत्यका मेयर्स फोरमको २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरियो,’ मेयर्स फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै, मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै यदि आगामी दिनमा इन्धन संकट अझ बढ्ने हो भने विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा कक्षा अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको तयारी गर्न फोरमले सुझाव दिएको छ। २२ चैतको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखदेखि र कक्षा २१ वैशाखदेखि सुरु गर्ने निर्णय गरेको थियो। यस निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्दा मेयर्स फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।






