Skip to main content

प्रशोधित युरेनियम के हो, इरानसँग यसको भण्डार कति छ र के उसले परमाणु हतियार बनाइरहेको छ?

अमेरिकी राष्ट्रपतिको दाबी अनुसार, तेहरानले युद्ध अन्त्य गर्ने सम्झौताअनुसार आफ्नो प्रशोधित युरेनियमको भण्डार हस्तान्तरण गर्ने बताएको विषयले फेरि धेरैको ध्यानाकर्षण पाएको छ। तर सोमबार इरानका उपविदेश मन्त्री सईद खातिब्जादेहले उक्त दाबी अस्वीकार गर्दै असोसिएटेड प्रेसलाई भने, त्यो सम्भव छैन। दुई पक्षबीच थप शान्ति वार्ता भइरहेको हुँदा यो विषय वार्ताको मुख्य एजेन्डामा रहने निश्चित छ।

तर वास्तवमा प्रशोधित युरेनियम के हो र यो किन महत्त्वपूर्ण छ? पृथ्वीको सतहमा युरेनियम प्राकृतिक रूपमा पाइने तत्त्व हो। यसका दुई प्रकारका आइसोटोपहरू छन्: यू-२३८ र यू-२३५। प्राकृतिक युरेनियममा ९९% यू-२३८ हुन्छ जुन ‘चेन रियाक्शन’ गराउन सक्दैन। जबकि ०.७% मात्र यू-२३५ हुन्छ जुन सजिलै टुक्रन सक्छ र ‘परमाणु फिसन’ अर्थात् परमाणु टुक्रिएर ऊर्जा निस्कने प्रक्रियामा उपयोगी हुन्छ।

प्रशोधनको विभिन्न स्तरअनुसार युरेनियमको प्रायोजन फरक हुन्छ। कम प्रशोधित युरेनियममा ३ देखि ५% यू-२३५ हुन्छ जुन व्यावसायिक परमाणु ऊर्जा केन्द्रमा इन्धनको रूपमा प्रयोग गरिन्छ। यसमा नियन्त्रित ‘चेन रियाक्शन’ हुन सक्छ, तर हतियार बनाउनका लागि यो स्तर पर्याप्त हुँदैन। उच्च प्रशोधित युरेनियममा यू-२३५ को मात्रा २०% वा सोभन्दा माथि हुन्छ र यसलाई अनुसन्धान रियाक्टरहरूमा प्रयोग गरिन्छ। हतियार बनाउनका लागि प्रशोधित युरेनियममा यू-२३५ को मात्रा लगभग ९०% हुन आवश्यक छ।

सन् २०१५ मा भएको सम्झौता अनुसार, चीन, फ्रान्स, जर्मनी, रूस, अमेरिका र बेलायतलगायत छ विश्व शक्तिहरूले इरानलाई ३.६७% मात्र युरेनियम प्रशोधन गर्ने र यसको भण्डार ३०० किलोग्रामभन्दा बढी नहुने प्रतिबन्ध लगाएका थिए।

हालको वार्तामा इरानसँग रहेको प्रशोधित युरेनियमको भविष्य के गर्ने भन्ने विषय छ। उच्च श्रेणीमा प्रशोधित गरिएको लगभग ४४० किलोग्राम युरेनियम इरानसँग रहेको वरिष्ठ अमेरिकी अधिकारीहरूले बताएका छन्।

इरानले आफ्ना परमाणु केन्द्रहरू शान्तिपूर्ण कार्यका लागि मात्र प्रयोग भइरहेको बताउँदै आएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (IAEA)ले पनि इरानमा सक्रिय परमाणु हतियार कार्यक्रमको कुनै प्रमाण फेला परेको छैन भनी जनाएको छ।