Skip to main content

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन समाप्त

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा मुख्यमन्त्री चेतनारायण आचार्यको अनुरोध अनुसार अधिवेशन समाप्त गरिएको हो। १० वैशाख, बुटवलमा भएको १६ औं बैठकमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक सर्वसम्मत पारित गरिएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको जानकारी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले दिएका छन्। हिउँदे अधिवेशनमा १६ वटा बैठक बसेका थिए। बिहिवार विहान साढे ११ बजे बसेको १६ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए।

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विधेयकको छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे। बैठकमा प्रदेश सभा सदस्यहरु वसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमुना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारीले समसामायिक विषयमा धारणा राखेका थिए।