इरानसँग सम्बन्धित ट्रम्पका बिहीबारका तीन महत्त्वपूर्ण अभिव्यक्तिहरू

१० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग सम्बन्धित तीन फरक महत्त्वपूर्ण बयान दिएका छन्। स्ट्रेट अफ हार्मुज, इरानको आन्तरिक राजनीति तथा हालको शान्ति प्रयासहरूसँग सम्बन्धित यी अभिव्यक्तिहरूले विभिन्न दृष्टिकोणहरू प्रस्तुत गरेका छन्। पहिलो बयानमा ट्रम्पले अमेरिकी नौसेनालाई हार्मुज स्ट्रेटमा कुनै पनि बारुदी सुरुङ बिछ्याइरहेको जहाजलाई तुरुन्तै आक्रमण गर्ने निर्देशन दिएको बताएका छन्। ‘मैले अमेरिकी नौसेनालाई आदेश दिएको छु — हार्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याइरहेको देख्नासाथ जुनसुकै जहाजमा पनि आक्रमण गर्नुस्,’ ट्रम्पले ट्रूथ सोसलमा लेखेका छन्, ‘यसमा कुनै हिचकिचाहट हुनु हुँदैन।’ उनले त्यहाँ अमेरिकी माइन स्वीपर्सहरूले अहिले हार्मुज स्ट्रेटलाई खतरा मुक्त गर्ने कार्य गरिरहेको पनि बताएका छन्।
त्यसैगरी, आजको अर्काे ट्रूथ सोसल पोस्टमा ट्रम्पले हार्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। सोही पोस्टमा उनले इरानको वास्तविक ‘नेता’ को हो भन्ने कुरा त्यहाँको जनता पनि थाहा पाउन सकेको छैन भनी टिप्पणी गरेका छन्। ‘देशभित्र कट्टरपन्थी र उदारवादीहरू बीच जबरजस्त द्वन्द्व छ,’ उनले लेखेका छन्, ‘कट्टरपन्थीहरू युद्धमैदानमा पराजित भइरहेका छन् र उदारवादीहरू त्यति धेरै उदार पनि छैनन्। तर, उनीहरूलाई सम्मान मिलिरहेको छ, जुन अचम्मको कुरा हो।’ उनीहरूले हार्मुज स्ट्रेटमा अमेरिकी सेनाको पूर्ण नियन्त्रण कायम रहेको व्याख्या गर्दै त्यहाँ अमेरिकी नौसेनाको अनुमति बिना कुनै जहाजले आवागमन गर्न नसकेको बताएका छन्।
आजको तेस्रो बयानमा ट्रम्पले बीबीसीसँगको कुराकानीमा भनेका छन् कि उनले जे गरिरहेको छ, त्यसले निकै राम्रो नतिजा ल्याएको छ। ‘विपक्षी पक्ष (इरान) सम्झौता गर्नका लागि उत्साहित भईरहेको छ। त्यसैले मैले जे भनिरहेको छु वा गरिरहेको छु, त्यसले सकारात्मक प्रभाव देखाइरहेको छ,’ उनले भनेका छन्। इरानसँग युद्ध अमेरिकाका लागि अप्ठ्यारो हुने बताएका उनले त्यस्तो युद्धका लागि नेटो सदस्यहरू पनि संलग्न हुनुपर्ने अवस्था आउने बताएका छन्। अमेरिका सधैं बेलायत र नेटोको समर्थनमा रहेको उनले स्पष्ट पारेका छन्।





