Skip to main content

पुटिनले आर्मेनियाली नरसंहारलाई २० औं शताब्दीको सबैभन्दा भयानक त्रासदी ठहराए

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्मेनियाली नरसंहारलाई २० औं शताब्दीको सबैभन्दा भयानक त्रासदी भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पुटिनले जातीय र धार्मिक घृणा, राष्ट्रवाद र जेनोफोबियाले तत्कालीन सभ्य संसारलाई स्तब्ध बनाएको बताएका छन्। सन् १९१५ देखि १९२३ सम्म अटोमन साम्राज्यले १० लाखदेखि १५ लाख आर्मेनियालीको सुनियोजित सामूहिक हत्या गरेको थियो। ११ वैशाख, काठमाडौं।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्मेनियाली नरसंहारको १११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा विशेष सन्देशमार्फत् उक्त घटनालाई २० औं शताब्दीको सबैभन्दा भयानक त्रासदीको रूपमा वर्णन गर्नुभएको छ। शुक्रवार जारी गरिएको सन्देशमा पुटिनले नरसंहारका हजारौँ पीडितहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै निर्दोष मानिसहरूको सामूहिक हत्या र देश निकाला कडा शब्दमा निन्दा गर्नुभएको छ।

पुटिनले आफ्नो सन्देशमा जातीय र धार्मिक घृणा, राष्ट्रवाद र जेनोफोबियाबाट उत्पन्न घातक परिणामले तत्कालीन सिङ्गो सभ्य संसारलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ। साथै, सन् १९१५ मा रूस, बेलायत र फ्रान्सले संयुक्त रूपमा यसलाई मानवता विरुद्धको अपराधको रूपमा निन्दा गरेको स्मरण गराउँदै रुसको अडान सधैं एकरूप रहेको स्पष्ट पार्नुभयो।

आर्मेनियाली नरसंहार भनेको पहिलो विश्वयुद्धको समयमा (सन् १९१५ देखि १९२३ सम्म) अटोमन साम्राज्य (अहिलेको टर्की) द्वारा आफ्ना नियन्त्रणमा रहेका अल्पसंख्यक आर्मेनियाली नागरिकहरूमा गरिएको सुनियोजित र व्यवस्थित सामूहिक हत्या तथा जातीय सफाइ हो। यस दुःखद घटनामा करिब १० लाखदेखि १५ लाख आर्मेनियालीको ज्यान गएको अनुमान छ।