
म्यान्मारकी नेतृ आङसाङ सुकीलाई कारागारबाट घरमै नजरबन्दमा सारिएको छ। सेनाका प्रमुख मिन आङ लाइङले आङसाङको बाँकी सजाय घरमै पूरा गर्न आदेश दिएका छन्। उनका छोरा किम एरिसले आमा जिउँदो रहेको कुनै प्रमाण नभएको र सरकारी तस्वीरको औचित्य नरहेको बताएका छन्।
१८ वैशाख, काठमाडौं। म्यान्मारकी नेतृ आङसाङ सुकीलाई कारागारबाट घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ। ८० वर्षीया नोबेल पुरस्कार विजेता सुकीलाई सन् २०२१ मा सैन्य विद्रोहपछि सत्ताच्यूत गरेर हिरासतमा राखिएको थियो।
म्यान्मारका सैनिक प्रमुख मिन आङ लाइङले भनेका छन्, ‘आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिइएको छ।’ मिन आङ लाइङ नै उक्त सैन्य विद्रोहका नेतृत्वकर्ता हुन्।
नेतृ आङसाङ सन् २०१५ मा म्यान्मारको सरकारमा आएकी थिइन्। त्यतिबेला म्यान्मारमा तत्कालीन शासनले लोकतान्त्रिक सुधारको सुत्रपात गरेको थियो। यसअघि उनी लामो समयसम्म सैन्य शासनका विरोधी र लोकतन्त्र समर्थक अभियान्ता थिइन्। उनलाई पहिलेदेखि नै १५ वर्षसम्म घरमै नजरबन्दमा राखिएको थियो।
म्यान्मारको सरकारी मिडियामा सुकीको एउटा तस्वीर सार्वजनिक भएको छ, जसमा उनी दुई जना सैनिकहरूसँग बसेकी देखिन्छन्। उनका छोरा किम एरिसले सैन्य सरकारको पछिल्लो घोषणा बारे शंका व्यक्त गर्दै आमा जिउँदो रहेको कुनै सहि प्रमाण छैन भनेका छन्। उनले सरकारी मिडियामा आएको तस्वीरको कुनै औचित्य नरहेको पनि बताएका छन्।






