Skip to main content

रोप्नुअघि नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोकिने निर्णय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ। यस निर्देशिकाअनुसार, किसानहरूले धान, मकै, गहुँ र कोदो जस्ता प्रमुख बालीहरू रोप्नुअघि नै तिनीहरूको न्यूनतम समर्थन मूल्यबारे जानकारी पाउनेछन्। यसले किसानलाई बाली छनोटमा सहजता प्रदान गर्ने, उत्पादन योजना बनाउन सहयोग पुग्ने र बजार जोखिमलाई कम गर्ने अपेक्षा गरिएको छ।

निर्देशिकाले हरेक बालीका लागि मूल्य निर्धारण गर्ने निश्चित कार्यतालिका तोकेको छ। उखुका लागि ३० भदौभित्र फिल्ड सर्वेक्षण र तथ्याङ्क संकलन गरी १५ असोजभित्र विश्लेषण प्रतिवेदन तयार गरिनेछ र ३० कात्तिकभित्र अन्तिम सिफारिस पेश गरिनेछ। गहुँका लागि ३० साउनभित्र सर्वेक्षण गरी १५ भदौसम्म प्रतिवेदन तयार गर्ने र ३० असोजभित्र अन्तिम सिफारिस पेश गर्ने व्यवस्था गरिएको छ।

चैते धान, वर्षे धान, वर्षे मकै र कोदोका लागि पनि मंसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस गर्ने प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। यो निर्देशिकाले कृषि क्षेत्रमा लगानी र उत्पादन वृद्धि हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को दफा ४७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरिएको हो।