Skip to main content

एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा उज्ज्वल र विपनाले उपाधि हात पार्न सफल

एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिताको नवौं संस्करणमा पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले उपाधि जितेका छन्। प्रतियोगितामा १०५ महिला र पुरुष खेलाडीले भाग लिएका थिए र विजेताले पुरस्कारस्वरूप सुनको बल प्राप्त गरेका छन्।

सिनियर विधिको ६० वर्ष माथिको कार्यक्रममा विजय बहादुर श्रेष्ठले उपाधि जितेका छन्। १९ वैशाख, काठमाडौंमा गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न प्रतिस्पर्धामा प्रधानाङ्गले ४० अंक र श्रेष्ठले ३७ अंक प्राप्त गरे।

प्रतियोगिताका विजेताहरूलाई सम्मान स्वरूप कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, प्रधानमन्त्री बालेन शाहकी श्रीमती (फस्ट लेडी) सबिना काफ्ले, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, द नेपाल डिस्टिलरीका सीइओ रमेश कृष्णनन, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वार आचार्य तथा अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले संयुक्त रूपमा पुरस्कार वितरण गरे।

प्रतियोगितामा विशेष आकर्षणको रुपमा रहेको ‘होल इन वान’ यस वर्ष पनि कुनै खेलाडीद्वारा प्राप्त हुन सकेको छैन, आयोजकले जनाएका छन्।