
१९ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन् । शनिबार उनी राजीनामा दिएको जानकारी दिएका छन् । ‘म आज पदबाट राजीनामा दिएको छु,’ उनले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पूर्ववर्ती सरकारको पालामा भएका राजनीतिक नियुक्तिहरूलाई खारेज गर्ने तयारी गरेको छ । सोहीअनुसार तयार पारिएको अध्यादेशलाई सरकारले राष्ट्रपति कार्यालयमा पठाएको थियो, जुन राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् । यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहितका पदाधिकारीहरूले पनि राजीनामा दिइसकेका छन् । १७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका थिए । यस्तै, शुक्रबार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका थिए ।






