
चीनले इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले लगाएको प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन करार गर्दै चिनियाँ कम्पनीहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन दिएको छ। अमेरिकाले अर्काे चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ भने राष्ट्रपति ट्रम्प चीन भ्रमणको तयारी गरिरहेका छन्। २० वैशाख, काठमाडौं।
चीनको वाणिज्य मन्त्रालयले आफ्नो वक्तव्यमा अमेरिकाले लगाएको प्रतिबन्ध स्विकार नगर्ने औँल्याएको छ। वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक क्रियाकलापमा चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् र यसले अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूलाई उलंघन गर्दछ।’ मन्त्रालयले अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने उल्लेख गर्दै चिनियाँ कम्पनी तथा संस्था हरूलाई ती प्रतिबन्ध पालन नगर्न निर्देशन दिएको छ।
वक्तव्यमा थप भनिएको छ, ‘चिनियाँ सरकारले सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दै आएको छ।’ अमेरिकाले एक दिनअघि मात्र अर्काे एक चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकाका अनुसार उक्त कम्पनीले ‘लाखौं बारेल’ इरानी कच्चा तेल आयात गरेको र इरानलाई अर्बौं डलर आम्दानी जुटाउन सहयोग गरेको छ। तर चीनको वाणिज्य मन्त्रालयले आफ्नो वक्तव्यमा उक्त कम्पनीको नाम उल्लेख गरेको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिनामा चीन भ्रमण गर्ने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बेला अमेरिकाले यी प्रतिबन्धहरू घोषणा गरेको हो।






