Skip to main content

दिल्लीको शाहदरा क्षेत्रमा भीषण आगलागी, ९ जनाको मृत्यु

२० वैशाख, काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदरा जिल्लाको विवेक विहार क्षेत्रमा शनिबार राति चार तले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। आगलागीका क्रममा जलेर तथा धुवाँले निसास्सिएर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। दमकल विभागका अनुसार आगलागीबाट १५ जनालाई सकुशल उद्धार गरिएको छ। घटनास्थलमा पुगेका दमकलका १५ वटा गाडीले करिब तीन घण्टासम्म प्रयास गरी आगो नियन्त्रणमा ल्याएका थिए।

विभिन्न तलामा भेटिएका शवमा प्रहरी प्रारम्भिक अनुसन्धान अनुसार दोस्रो तलामा पाँच जना, तेस्रो तलामा एक जना र चौथो तलाको छत नजिक तीन जनाको शव फेला परेको छ। चौथो तलाका केही व्यक्तिहरू ज्यान जोगाउन छततर्फ भागेका थिए, तर छतको ढोका बन्द भएकाले बाहिर निस्कन सक्न सकेनन् र धुवाँले निसास्सिएर बेहोस भएका थिए। शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले प्रारम्भिक जानकारी दिँदै आगलागीको सूचना बिहानै प्राप्त भएसँगै तत्काल उद्धार र आगो नियन्त्रणको कार्य सुरु गरिएको बताए।

उनका अनुसार घटनास्थलबाट हालसम्म ९ वटा शव बरामद भइसकेका छन् भने खोज र उद्धार कार्य अहिलेसम्म पनि जारी छ। विवेक विहार प्रहरी कार्यालयमा बिहान करिब ३:४८ बजे आगलागीको सूचना पीसीआर कल मार्फत प्राप्त भएको थियो। त्यसपछि प्रहरी प्रमुख, एसीपी र अन्य टोली घटनास्थलमा पुगेका थिए। दमकल, क्राइम टोली तथा अन्य आपतकालीन निकायहरू परिचालित थिए। दमकल विभागका अनुसार आगो तेस्रो र चौथो तलामा रहेका फ्ल्याटहरूमा फैलिएको थियो। उद्धारका क्रममा १० देखि १५ जनालाई भवनबाट बाहिर निकालिएको थियो। उनीहरू मध्ये दुई जनालाई सामान्य चोट लागेको छ र उपचार गुरु तेग बहादुर अस्पतालमा भइरहेको छ।

प्रारम्भिक अनुमान: शर्ट सर्किट प्रारम्भिक अनुसन्धानले आगलागीको कारण विद्युत् सर्ट सर्किट हुन सक्ने बताएको छ। यद्यपि घटना सम्बन्धी विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन, ट्राफिक प्रहरी र डीडीएमए टोलीहरू समेत घटनास्थलमा परिचालित छन्। आगलागीपछि क्षेत्रव्यापी सुरक्षा व्यवस्था कडा पारिएको छ।