Skip to main content

ग्लान वंशको पहिलो राष्ट्रिय भेला सम्पन्न, अर्जुन ग्लानको संयोजकत्वमा तदर्थ समिति गठन

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरामा ग्लान वंशको पहिलो राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको छ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर ग्लान तामाङले झन्डै एक करोड रुपैयाँको लागतमा निर्मित ग्लान समुदायको ङारदिम उद्घाटन गरेका छन्। उक्त राष्ट्रिय भेलाले अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। २० वैशाख, काठमाडौं।

ग्लान वंश नेपालको व्यापक राष्ट्रिय भेलाले “कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने मूल नारासहित सम्पन्न भएको हो। तामाङ समुदायमा पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित क्षेत्रलाई ग्लान समुदायको उद्गमस्थलका रूपमा मानिएको छ। पछिल्लो समय ग्लान वंशका सदस्यहरूले सो स्थानलाई ऐतिहासिक थलोको रूपमा स्वीकार गरी ग्लान समुदायको ङारदिम (थातथलो) का रूपमा स्थापना गरेका छन्।

कार्यक्रममा तामाङले नुवाकोटमा स्थापना गरिएको ङारदिमलाई जगेर्ना गर्न र प्रचारप्रसारमा सबैसँग सहकार्य गर्न आग्रह गरे। उनले आफ्नो संस्कृति संरक्षणमा कुनै कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गरे। अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा रक्षबहादुर ग्लान (काठमाडौं), ललित ग्लान (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर, नुवाकोट), आनन्दी ग्लान (ककनी, नुवाकोट), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सूर्यगढी, नुवाकोट) रहेका छन्।

तदर्थ समिति संयोजकको जिम्मेवारी पाएका अर्जुनले ग्लान समाजका कुल–कुल्यान, संस्कार, संस्कृति तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापना गर्ने प्रतिबद्धता जनाए। राष्ट्रिय भेलामा झापा, उदयपुर, सिन्धुली, सर्लाही, बारा, मकवानपुर, चितवन, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्लाबाट ग्लान वंशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।