Skip to main content

नेपाल प्रहरीले फेसबुकमार्फत सामाजिक सञ्जालमा जानकारी दिएको छ

नेपाल प्रहरीले अप्रिल फुलको रूपमा फेसबुक मार्फत क्युआर कोड प्रयोग गरी सामाजिक सञ्जालमा आउने हरेक कुरा सत्य नहुने सन्देश दिएको छ। प्रहरीले ७९ हजार नेटवर्क र सोसल मिडिया डेस्कको माध्यमबाट घटनाका सूचना तुरुन्तै फेसबुकमा प्रकाशित गर्ने प्रणाली स्थापना गरेको छ। ‘तपाईंविरुद्ध प्रहरीमा कुनै उजुरी वा निवेदन परेको छैन?’ प्रहरीको फेसबुक पेजमा अचानक यस्तो सूचना आएको थियो। त्यससँगै अर्को कुरा पनि उल्लेख थियो– ‘पक्का गर्नका लागि एक पटक यो क्युआर कोड स्क्यान गर्नुहोस्।’ आधिकारिक फेसबुक पेजबाटै सूचना आउँदा सबैले हतार-हतार क्युआर कोड स्क्यान गरे। त्यसबेला थाहा भयो, प्रहरीले यो अप्रिल १ मा ‘अप्रिल फुल’ रूपमा राखेको रहेछ। के प्रहरीले सर्वसाधारणसँग यो मजाक गर्‍यो? पक्कै थिएन। त्यहाँ गहिरो सन्देश थियो कि सामाजिक सञ्जालमा आउने हरेक कुरा सत्य हुँदैन। हरेक कुरा पत्याउनुअघि हिचकिचाउनुहोस्, सोच्नुहोस् र जाँच गर्नुहोस्।

आजको डिजिटल युगमा हामी सबै कुरा अनलाइन गर्छौं। व्यापारदेखि लिएर सानातिना कुरासम्म सबै लगभग डिजिटल प्लेटफर्ममा निर्भर छन्। यसरी डिजिटल हुन्छ जाँदा ठगीका नयाँ तरिका पनि बढिरहेका छन्। यसैबिच इन्टरनेटमा आधारित ठगहरूले सजिलै मानिसहरूलाई फसाउँछन्। एकतर्फ ध्यान तानेको सन्देश थियो। अर्कोतर्फ यस्ता रचनात्मक सन्देशहरूले नेपाल प्रहरीको फेसबुक प्रयोग गर्ने शैली कति बद्लिएको छ भन्ने देखाउँछन्। पहिलेका पोस्टहरू औपचारिक र सूचनामूलक मात्र हुन्थे जसले सबैको ध्यान खिच्न सक्दैनथे। अहिले पोस्टहरूमा हास्य, सानो ट्विस्ट, रचनात्मक ग्राफिक्स र सरल भाषा प्रयोग गरिन्छ।

प्रहरी प्रवक्ता अभिनारायण काफ्ले भन्छन्, ‘आजका दर्शक छिटो बुझ्ने र छोटो सामग्री मन पराउँछन्। त्यसैले प्रहरीले त्यही शैली अपनाएको हो।’ सूचना दिने तरिका मात्र होइन, कसरी प्रस्तुत गर्ने कला पनि अहिले अत्यन्त महत्वपूर्ण बनेको उनले बताए। छिटो-छरितो अपडेट कसरी सम्भव भयो? आज सूचना ढिला आएमा त्यसको मूल्य घट्छ। यही बुझेर नेपाल प्रहरीले सूचना प्रवाह प्रणाली तीव्र बनाएको छ। दुर्घटना, ट्राफिक जाम वा विपद्का सूचना केही मिनेटमै प्रहरीको फेसबुकमा आउँछन्। देशभर ७९ हजार प्रहरी नेटवर्क र केन्द्रीय सोसल मिडिया कोअर्डिनेशन डेस्क २४ घण्टा सक्रिय रहेको काफ्लेले बताएका छन्। ‘कुनै घटना भएलगत्तै सूचना नेटवर्कमार्फत सोसल मिडिया डेस्कमा पुग्छ। सूचना भेरिफाइ गर्ने, ग्राफिक्स र समाचार तयार गर्ने टोली तुरुन्त खटिन्छन्। सबै प्रक्रिया पूरा भएपछि तुरुन्त सार्वजनिक गरिन्छ,’ उनी भन्छन्।