एटलान्टिक महासागरमा सञ्चालित पानीजहाजमा ३ जनाको मृत्यु, १ जनामा दुर्लभ हान्ता भाइरस संक्रमण पुष्टि

२१ वैशाख, काठमाडौं । एटलान्टिक महासागरमा सञ्चालित एक पानीजहाजमा तीनजना यात्रुको मृत्यु भएको छ । तीमध्ये कम्तीमा एक व्यक्तिमा मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार, अर्जेन्टिनाको उशुआयाबाट केप भर्डेतर्फ जाँदै गरेको एमभी होन्डियस क्रुज जहाजमा हान्ताभाइरसको सम्भावित प्रकोपविरुद्ध अनुसन्धान जारी छ । शनिवार जारी गरेको वक्तव्यमा डब्लूएचओले एकजनामा संक्रमण पुष्टि भइसकेको र थप कम्तीमा पाँच जना यात्रुमा संक्रमणको आशंका रहेको जनाएको छ ।
‘छ जना प्रभावितमध्ये तीनको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकाको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्,’ वक्तव्यमा उल्लेख छ । डब्लूएचओका अनुसार थप प्रयोगशाला परीक्षण र महामारीसम्बन्धी अनुसन्धान जारी छ । यात्रु र चालकदललाई आवश्यक स्वास्थ्य सेवा र सहयोग प्रदान गरिंदैछ र भाइरसको जिन सिक्वेन्सिङ पनि जारी छ ।
साथै, लक्षण देखिएका अन्य दुई यात्रुको उद्धारका लागि राष्ट्रहरूबीच समन्वय भइरहेको छ । हान्ताभाइरस संक्रमित मुसाबाट यसको दिसा वा पिसाबमार्फत मानिसमा संक्रमण सर्ने दुर्लभ रोग हो । यसले गम्भीर अवस्थामा रगत बग्ने ज्वरो (हेमोरजिक फिभर) निम्त्याउन सक्छ र जीवनघातक बन्न सक्छ।
दम्पतीको मृत्युबारे दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले शनिबार यसअघि नै ‘गम्भीर तीव्र श्वासप्रश्वास सम्बन्धी रोग’को प्रकोप भएको र कम्तीमा दुई जनाको मृत्यु भएको जानकारी दिएको थियो । तेस्रो संक्रमित जोहानेसबर्गको आईसीयूमा उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ताले जोहानेसबर्गमा उपचाररत बिरामीमा हान्ताभाइरस पुष्टि भएको जानकारी दिएका छन् ।
सबैभन्दा पहिले लक्षण देखिएका ७० वर्षीय पुरुष जहाजमै मृत्यु भएका थिए। उनको शव हाल दक्षिण एटलान्टिकस्थित बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ । उनकी ६९ वर्षीय श्रीमती पनि बिरामी भएपछि दक्षिण अफ्रिकामा ल्याइए, जहाँ उनको जोहानेसबर्गस्थित अस्पतालमा मृत्यु भएको छ । मृतकहरूको राष्ट्रियता अहिलेसम्म पुष्टि भएको छैन, तर आईसीयूमा उपचाररत बिरामी ६९ वर्षे बेलायती नागरिक रहेको बताइएको छ।






