Skip to main content

इन्टरले २१औं पटक सिरी ए उपाधि जित्यो

इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ। इन्टरले पार्मालाई २-० ले पराजित गर्दै ३ खेल बाँकी छँदै उपाधि सुनिश्चित गरेको हो। मार्कुस थुराम र हेनरिक मिखातर्‍यानले समान एकएक गोल गरेका थिए।

२१ वैशाख, काठमाडौं। आइतबार राति भएको खेलमा इन्टरले पार्मालाई २-० ले हराउँदै उपाधि जितेको हो। सान सिरोमा भएको खेलमा इन्टरका लागि मार्कुस थुरामले पहिलो हाफको इन्जुरी टाइममा गोल गरी अग्रता दिलाए भने मिखातर्‍यानले ८०औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

यो जितपछि शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको नापोलीमाथि १२ अंकको ठूलो अग्रता बनाएको छ। इन्टरले ३५ खेलबाट ८२ अंक संकलन गरी शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको नापोलीसँग ३५ खेलबाट ७० अंक छ। नापोलीले बाँकी खेलहरु जिते पनि इन्टरलाई पछाडि पार्न सक्दैन। सन् २०२४ मा च्याम्पियन बनेको इन्टरले एक सिजनपछि नै पुनः लिग उपाधि जित्न सफल भएको हो। इन्टर सिरी ए मा सबैभन्दा धेरै उपाधि जित्ने टोलीमध्ये दोस्रो स्थानमा छ। युभेन्ट्सले सर्वाधिक ३६ पटक सिरी ए उपाधि जितेको छ भने एसी मिलानले १९ पटक जितेर तेस्रो स्थानमा छ।