
समाचार सारांश अनुसार, सेयर बजारमा मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२ अंकमा पुगेको छ। कारोबार रकम घटेर ३ अर्ब ४३ करोडमा सीमित भएको छ र १६२ कम्पनीको मूल्य बढेको छ। माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य ११.१६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। २२ वैशाख, काठमाडौं। विगत चार दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। आज बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.७८ अंकले बढेको हो। यस वृद्धिसँगै नेप्से परिसूचक २७१२ अंकमा कायम भएको छ। अघिल्लो दिन बजार ३४ अंकले घटेको थियो। कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन। २७२५ नै दिनभरको लागि अधिकतम अंक रह्यो। कारोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोडमा सिमित भएको छ। १६२ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर छ। आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशतले बढेका छन्। विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशतले घटेका छन्। माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.१६ प्रतिशतले बढेको छ। त्यस्तै सोलु हाइड्रोपावरको मूल्य ७.५६, धौलागिरी लघुवित्तको ७.०४ र झापा इनर्जीको ४.८० प्रतिशतले वृद्धि भएको छ। फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशतले घटेको छ। सुपरखुदी हाइड्रोपावरको मूल्य ३.१३ र रावा इनर्जीको मूल्य ३ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका पाँच कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी र पाल्पा सिमेन्ट छन्।






