Skip to main content

पूर्णबहादुर खड्काद्वारा चेतावनी: प्रधानन्यायाधीश नियुक्तिमा स्थापित परम्परा कायम राख्नुपर्ने

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिको झण्डै चार दशक लामो स्थापित परम्परालाई संवैधानिक परिषद्ले अवमूल्यन गर्न नहुने बताए। प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको अवस्थामा बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नियुक्तिको स्थापित परम्पराप्रति सरकारको ध्यान आकृष्ट गराएका छन्। ‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक आज बस्दैछ। जानकारी अनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति आज हुने छ,’ खड्काले बताएका छन्, ‘करिब चार दशकदेखि कायम प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले अवमूल्यन नगरोस्।’

प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि गरे न्यायालयमा गम्भीर अस्थिरता आउने उनले बताए। ‘नत्र, ठूलो असुरक्षा र अनिश्चितताका कारण न्यायालयमा भयावह अस्थिरता निम्तिनेछ,’ खड्काले लेखेका छन्, ‘जसले हाम्रो स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयामिक नकारात्मक प्रभाव पार्न सक्ने खतरा छ। विशेष गरी परिषद्का अध्यक्षज्यूको गम्भीर ध्यानाकर्षण हुन आवश्यक छ।’