Skip to main content

बैतडीको मेलौलीमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले उक्त कार्यालयको उद्घाटन गरेका छन्। यस कार्यालयले मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकाका नागरिकहरूलाई सरल, छरितो सेवा प्रदान गर्नेछ। २४ वैशाख, बैतडी।

मेलौली नगरपालिका–१ मा स्थापना गरिएको यस इलाका प्रशासन कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेशका मन्त्री शिवराज भट्टले गरेका हुन्। उद्घाटन समारोहका क्रममा मेलौली–७ का दीपक अवस्थीलाई नागरिकता प्रमाणपत्र वितरण गरी कार्यालयको सेवा प्रारम्भ गरिएको छ।

यस कार्यालय सञ्चालनमा आएसँगै मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका तथा पाटन नगरपालिकाका केही वडाका नागरिकहरूले प्रत्यक्ष लाभ उठाउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले स्थानीय नागरिकलाई छिटो, सहज र सञ्चालनयोग्य सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्यालय स्थापना गरिएको बताए।

डा. भट्टराईले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता क्रमशः हट्ने विश्वास व्यक्त गरे। स्थानीयवासी करन सिंह नेगीले नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी प्रक्रियाका लागि सदरमुकाम जानुपर्ने समस्या अब अन्त्य हुने बताए। इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्टले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।