Skip to main content

सिरहाको बरियारपट्टीमा छोटी भन्सार फिर्ता गर्न हुलाकी मार्ग पुनः अवरुद्ध

२५ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्न माग गर्दै स्थानीयबासी र व्यापारीहरूले फेरि आन्दोलन शुरु गरेका छन्। नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्र मार्फत सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय समुदायमा विरोध तेज भएको हो। स्थानीयहरूले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व सङ्कलन र स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनकारीहरूले बिहीबार विहान करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गरेपछि दिउँसो करिब २ बजेसम्म जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएका थिए र पुनः क्रमिक रुपमा आन्दोलन जारी राख्ने घोषणा गरे। सोहीअनुसार शुक्रबार पहिलो दिन सडक जाम र बजार बन्द गरेर आन्दोलन शुरु गरिएको बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोद कुमार यादवले जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनको तयक्रम अनुसार वैशाख २५ गते विहान ७ बजेदेखि ११ बजेसम्म चक्का जाम, वैशाख २६ गते र्यालीसहित कोणसभा, वैशाख २७ गते दिनभर बजार बन्द र मसाल जुलुस, तथा वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालका लागि व्यापक छलफल गरिनेछ।

शुक्रबार विहानदेखि नै बरियारपट्टी गाउँपालिका–३ मा रहेको बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीच भागमा ब्याञ्च राखेर र टायर बालेर हुलाकी मार्ग पूर्ण रूपमा अवरुद्ध गरेका छन्। सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्गमा आवागमन प्रभावित भएको छ र भारततर्फ आउने वा नेपालतर्फ जाने यात्रुहरूलाई समस्या भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भनेका छन् कि सरकारले छोटी भन्सार कार्यालय हटाएपछि नागरिकलाई परेको असुविधा नियन्त्रणको लागि माडर भन्सार कार्यालयबाट तत्काल कर्मचारी खटाइएको छ। उनी भन्छन्, ‘माडर भन्सार कार्यालयको नाममा भन्सार व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनकारीहरूले बुझाएको ज्ञापनपत्रका आधारमा अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी भइरहेको र मन्त्रालयबाट आउने निर्णयअनुसार अघि बढ्ने जानकारी दिएका छन्।