
२५ वैशाख, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइनजस्तो पदार्थ र नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको जनाएको छ। धनगढीमाई नगरपालिका-१ बाट प्रदेश २-०२-००१ प ३२१२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा लहान नगरपालिका–१३ का ३५ वर्षीय देवकान्त चौधरी र एक अन्य व्यक्ति छन्। जाँचका क्रममा उनीहरूले लगाएको पाइन्टको खल्तीबाट ३.६३ ग्राम खैरो हिरोइनजस्तो पदार्थ फेला परेको थियो। प्रहरीले मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चोकबाट पनि लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–९ मुसहरनिया बस्ने २२ वर्षीय लोकसिंह राजपुतलाई पक्राउ गरेको छ। उनको साथबाट नाइट्राजेपाम ट्याब्लेट १० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डिएसपी रमेशबहादुर पालले जानकारी दिए।






