बिचुटेन डेटा भोल्टद्वारा नेपालमा पहिलो हाईपरस्केल डेटा सेन्टर निर्माणको घोषणा

बिचुटेन डेटा भोल्टले नेपालमा पहिलो पटक टियर–४ स्तरको हाईपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। यो डेटा सेन्टर काठमाडौं र वीरगञ्जमा स्थापना गरिनेछ र सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने उद्देश्य राखिएको छ। कम्पनीले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्दै नेपालको डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य लिएको बताएको छ।
नेपालका लागि यो परियोजना नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशालकुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको छ। कम्पनीले नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डेटा सुरक्षालाई सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
अन्तर्राष्ट्रिय गुणस्तरको यस परियोजनाले वर्षभरिमा २६ मिनेटभन्दा कम प्राविधिक अवरोध हुने र ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्ने दाबी गरिएको छ। यो परियोजना काठमाडौं र वीरगञ्जमा दुईवटा रणनीतिक स्थानमा निर्माण गरिनेछ। सुरुमा २४० किलोवाट क्षमताबाट आरम्भ गरिने यसलाई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ। प्रविधि र विशेषज्ञताको लागि भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता प्रमुख प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिएको छ।






