Skip to main content

मीना खरेल नेपाली कांग्रेस निकट महिला संघकी अध्यक्ष चयन

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघकी अध्यक्षमा मीना खरेल चयन भएकी छन् । सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्ष पदमा नियुक्त गरेका हुन् । गत निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् । असहाय महिला तथा बालबालिकाको क्षेत्रमा खरेलले सक्रिय काम गर्दै आएकी छन् । उनको नेतृत्वमा तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ । २०७३ सालदेखि महिला संघको निर्वाचन हुन सकेको छैन । यसअघि अध्यक्ष रहेकी उषा मिश्रको समितिले पनि महिला संघको महाधिवेशन गर्न सकेको थिएन ।

को हुन् मीना खरेल ? महिला, बालबालिका, घरेलु हिंसा विरुद्धका सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील र स्थापित नाम हो मीना खरेल । उनको नाम सुन्नासाथ चितवनवासीको दिमागमा समाजसेवी महिलाको छवि आउँछ, जो दिनरात नभनी हिंसामा परिएका महिला र बालबालिकाको उद्धारमा सक्रिय छन् । ५४ वर्षीया मीनाले झण्डै ३५ वर्ष समाजसेवा गरेकी छन् । उनले एकल तथा बहुविवाहबाट पीडित महिलाको पक्षमा कानूनी लडाइँ लड्दै आएकी छन् र जबरजस्ती करणीलगायत विभिन्न कारणले अभिभावक दुवै गुमाएका असहाय बालबालिकाको लागि आश्रम सञ्चालन गर्दै आएकी छन् । पीडित र अपहेलित महिलालाई स्वरोजगार दिलाउने र समाजमा स्थापित गर्न विभिन्न सीपमूलक तालिम सञ्चालन गरेर चर्चित मीना राजनीतिक भन्दा सामाजिक क्षेत्रमा बढी सक्रिय छिन्।

वर्ष २०२८ मा जन्मिएकी मीना भरतपुर महानगरपालिका वडा नं. ४ की स्थायी बासिन्दा हुन्। उनले समाजशास्त्रमा स्नातकोत्तर शिक्षा हासिल गरेकी छन्। मीना आदर्श नारी क्लबकी संस्थापक सचिव, आदर्श नारी विकास केन्द्र भरतपुरकी अध्यक्ष, असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र«आदर्श गृह»की संस्थापक संयोजक हुन्। उनले सडक बालबालिका पुनर्स्थापना केन्द्र «हाम्रो घर», नारायणगढकी संस्थापक, आदर्श बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष, सामुदायिक सेवा केन्द्र, नारायणगढकी संस्थापक अध्यक्षको रूपमा काम गरिसकेकी छिन्। सानै उमेरमा शुल्क वृद्धिको विरोध गर्दा प्रहरीले पक्राउ गरेका मीना २०४६ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट सक्रिय सहभागी थिइन्।

वीरेन्द्र क्याम्पसमा नेविसंघकी अध्यक्ष, कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य हुँदै अहिले कांग्रेसकी महासमिति सदस्य छन्। २०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिका वडा नं ५ की महिला सदस्य निर्वाचित भएकी मीना अहिले पहिलो पटक संसदीय निर्वाचनका लागि उम्मेदवार बनेकी थिइन्। २०५६ सालको निर्वाचनपछि कांग्रेसले चितवन–२ मा जित पाउन सकेको छैन। २१ फागुनमा सम्पन्न निर्वाचनमा त्यहाँबाट रास्वपाका सभापति रवि लामिछाने विजयी भएका थिए। २०६४ सालमा चितवन निर्वाचन क्षेत्र नं ३ मा माओवादी केन्द्रले जितेको थियो। २०७० र २०७४ को निर्वाचनमा लगातार नेकपा (एमाले) ले जितेको यो क्षेत्रमा २०७९ को निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका थिए। २०८० को उपनिर्वाचनमा लामिछाने पुनः निर्वाचित भए। २०७९ र २०८० मा माओवादीसहितको गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठेका थिए। तर यसपटक कांग्रेसले गठबन्धन नगरेपछि मीना मैदानमा उत्रिएकी थिइन्। कांग्रेसभित्र मतभेद र विवाद हुँदा पनि यसपटक मीनालाई कांग्रेसले पूर्ण समर्थन गरेको थियो। नतिजा कांग्रेसका लागि अनुकूल भएन। ५४ हजार ४०२ मतदानसहित लामिछाने निर्वाचित भए, भने मीनाले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछाने र मीनासँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाए।

कार्यदेश यस्तो छ।