Skip to main content

के मोटोपनाले सम्बन्धमा दूरी बढाउन सक्छ?

समाचार सारांश मोटोपनाले मानिसको मानसिक स्वास्थ्य, आत्मविश्वास, सम्बन्ध र दाम्पत्य जीवनमा गहिरो असर पार्न सक्छ। मोटोपना केवल शरीरको आकार बढ्नु मात्र होइन, यसले मानिसको मानसिक स्वास्थ्य, आत्मविश्वास, सम्बन्ध र दाम्पत्य जीवनमा समेत गहिरो प्रभाव पार्न सक्छ। पछिल्ला वर्षहरूमा विश्वभर मोटोपनाको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, कम शारीरिक गतिविधि, तनावपूर्ण जीवनशैली र पर्याप्त निद्राको कमीले धेरै मानिस मोटोपनाबाट पीडित छन्। मोटोपनाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, थाइराइड र कोलेस्ट्रोलजस्ता स्वास्थ्य जोखिम मात्र बढ़ाउँदैन, यसले व्यक्तिको भावनात्मक सम्बन्ध र यौन जीवनमा पनि नकारात्मक असर पुर्‍याउँछ। धेरै मानिस यस विषयमा खुलस्त रूपमा कुरा गर्न हिच्किचाउँछन्, तर मोटोपनाका कारण आत्मविश्वास घट्ने, पार्टनरसँग दूरी बढ्ने र सम्बन्धमा असन्तुष्टि बढ्ने समस्याहरू व्यापक देखिन्छन्। मनोविशेषज्ञहरूसँगको अनुसार, सामीप्यता केवल शारीरिक सम्बन्ध मात्र होइन, यो भावनात्मक नजिकपन, आत्मीयता, विश्वास र पार्टनरसँग सहज व्यवहार पनि हो। जब व्यक्ति आफ्नो शरीरप्रति असन्तुष्ट हुन्छ, त्यसको सिधा असर सम्बन्धमा पर्न सक्छ। १. आफ्नो शरीरप्रति लाज र असहजता महसुस हुनु मोटोपनाले सम्बन्धलाई असर गर्ने सबैभन्दा प्रमुख कारण आत्मविश्वासमा कमी हुनु हो। धेरै मानिस बढेको तौलका कारण आफूलाई आकर्षक महसुस गर्दैनन्। उनीहरू आफ्नो शरीर राम्रो देखिँदैन भनेर सोच्न सक्छन्, जसले पार्टनरसँग खुला संवाद गर्न डर लाग्न सक्छ। विशेषगरी महिलाहरूमा शरीरको आकारलाई लिएर सामाजिक दबाब बढी हुन्छ। सामाजिक सञ्जाल, चलचित्र र विज्ञापनहरूले ‘परफेक्ट बडी’को छवि बनाएका हुन्छन्। यस्तो अवस्थामा मोटोपनाको समस्या भएका व्यक्ति आफूलाई अरुसँग तुलना गर्न थाल्छन्। जब व्यक्तिलाई आफ्नै शरीरप्रति लाज लाग्छ, उनीहरू पार्टनरसँग सहज हुन सक्दैनन्। कतिपयले आफ्नो शरीर देखाउन नचाहने, नजिक हुन हिचकिचाउने वा शारीरिक सम्बन्धबाट टाढा बस्ने बानी देखाउँछन्। विशेषज्ञहरूको अनुसार यस्तो स्थिति लामो समय रह्यो भने सम्बन्धमा दूरी बढ्न सक्छ। पार्टनरले “मलाई माया गर्न छोड्यो” भन्ने महसुस गर्न सक्छन्, यद्यपि वास्तविकमा समस्या आत्मविश्वासमा आएको कमी हुन सक्छ। मोटोपनाले शरीरको बनावट मात्र होइन, व्यक्तिको सोच र आत्मसम्मानमा पनि असर पार्छ, जसले अन्तरंग सम्बन्धमा सिधा प्रभाव पार्न सक्छ। २. मन विचलित हुनु र तनाव बढ्नु मोटोपनाको मानसिक स्वास्थ्यसँग गहिरो सम्बन्ध छ। अनुसन्धानहरूले मोटोपना भएका व्यक्तिमा चिन्ता, तनाव र डिप्रेसनको जोखिम बढी हुने देखाएका छन्। जब व्यक्ति आफ्नो शरीर, स्वास्थ्य वा अरूले के सोच्लान् भन्ने चिन्तामा बाँच्न थाल्छ, त्यसले मानसिक तनावलाई बढावा दिन्छ र सम्बन्धलाई पनि असर गर्दछ। सामीप्यताको लागि मानसिक रूपमा सुरक्षित र सहज महसुस हुनु आवश्यक छ। तर लगातार तनावमा रहेको व्यक्तिले भावनात्मक रूपमा पार्टनरसँग जोडिन गाह्रो महसुस गर्न सक्छ। कतिपय अवस्थामा मोटोपनाले हर्मोनमा पनि असर पार्न सक्छ। उदाहरणका लागि, अत्यधिक बोसोले शरीरमा टेस्टोस्टेरोन र इस्ट्रोजनको सन्तुलन बिगार्न सक्छ, जसले यौन इच्छा घटाउने, थकान बढाउने र मुड परिवर्तन हुने समस्या ल्याउन सक्छ। तनावले मानिसलाई चिडचिडा बनाउने, साना कुरामा झर्किने, कुरा गर्न नचाहने वा पार्टनरबाट टाढा बस्ने व्यवहार गराउन सक्छ। विशेषज्ञहरूको मत अनुसार यस्तो अवस्थामा दम्पतीबीच संवाद कम हुन थाल्छ। जब भावना खुलस्त रूपमा व्यक्त हुँदैनन्, सम्बन्धमा दूरी बढ्ने सम्भावना हुन्छ। ३. अस्वीकार हुने भय मोटोपनाले धेरै मानिसमा ‘मेरो पार्टनरले मलाई अब आकर्षक मान्दैन’ भन्ने डर उत्पन्न गर्न सक्छ, जसलाई ‘बडी इमेज इन्सिक्योरिटी’ भनिन्छ। विशेषगरी अचानक तौल बढेपछि, व्यक्तिलाई आफू पहिलेभन्दा कम आकर्षक भएको महसुस हुनसक्छ। केही मानिसलाई पार्टनरले अस्वीकार गर्ने डरले शारीरिक रूपमा टाढा रहन मन लाग्न सक्छ र यस्ता मानिसहरू आफूलाई जोगाउन भावनात्मक दूरी बनाउने प्रयास गर्छन्। तर यो डर सधैं वास्तविक नहुन सक्छ। धेरै अवस्थामा पार्टनर त्यसो सोच्दैनन्, तर व्यक्तिको मनमा बसेको असुरक्षा सम्बन्धलाई असर पार्न सक्छ। यदि पार्टनरले मजाकमा पनि शरीरबारे टिप्पणी गर्‍यो भने त्यसले गहिरो प्रभाव पार्न सक्छ। मोटोपनासँग जुद्धै गरेका मानिसहरू यस्ता टिप्पणीप्रति संवेदनशील हुन्छन्। समयसँगै यस्तो डरले सम्बन्धमा खुलापन घटाउँछ र मानिसले आफ्ना भावना दबाउन थाल्छन्, जसले सम्बन्धमा भावनात्मक दूरी बढ्न सक्छ। ४. शारीरिक स्वास्थ्यमा असर र त्यसको प्रभाव मोटोपनाले शरीरको ऊर्जा र शारीरिक क्षमता कम गर्छ। धेरै मोटोपना भएका व्यक्तिहरू छिट्टै थाक्ने, सास फेर्न गाह्रो हुने वा शरीर भारी हुने समस्या अनुभव गर्छन्। यस्तो अवस्थामा पार्टनरसँग समय बिताउने वा सक्रिय जीवनशैली अपनाउने इच्छामा कमी आउन सक्छ। मोटोपनासँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगहरूले सम्बन्धमा पनि प्रभाव पार्न सक्छन्। कतिपय औषधिहरूले यौन इच्छामा कमी ल्याउन सक्छन्। पुरुषमा अत्यधिक मोटोपनाले यौन दुर्बलताको जोखिम बढाउन सक्छ भने महिलामा हर्मोन असन्तुलनतर्फ लैजान सक्छ जसले यौन इच्छामा परिवर्तन ल्याउन सक्छ। शरीर स्वस्थ नहुँदा मानिस मानसिक रुपमा पनि असहज महसुस गर्छन्। लगातार थाकेको र अस्वस्थ महसुस गर्नेले सम्बन्धमा सक्रिय रहने ऊर्जा गुमाउन सक्छ। ५. भावनात्मक दूरी बढ्नु यौन सम्बन्ध केवल शारीरिक नभएर भावनात्मक निकटता पनि हो। जब मानिस आफ्नो शरीर वा स्वास्थ्यलाई लिएर तनावमा हुन्छ, उसले आफ्ना भावना खुलाउन छोड्न सक्छ। कतिपय अवस्थामा मोटोपनाले व्यक्तिलाई सामाजिक रूपमा टाढा बस्न लगाउन सक्छ। बाहिर जान, फोटो खिच्न वा सामाजिक कार्यक्रममा सहभागी हुन हिचकिचाउने बानी पर्न सक्छ। यसले दम्पतीको सम्बन्धमा असर पुर्‍याउन सक्छ। पार्टनरले “ऊ पहिले जस्तो छैन” भन्ने अनुभूति गर्न सक्छ। विशेषज्ञहरूको अनुसार भावनात्मक दूरी बढेपछि साना कुरामा गलतफहमी बढ्ने सम्भावना छ। संवाद घट्दा समस्या झन जटिल बन्न सक्छ। यदि दुवैले खुलस्त कुरा नगर्ने हो भने सम्बन्ध कमजोर हुन सक्छ। समस्या कसरी समाधान गर्ने? – सबैभन्दा महत्वपूर्ण कुरा पार्टनरबीच खुला संवाद हुनु हो। आफ्नो शरीरप्रति असुरक्षा महसुस गरिरहेको व्यक्तिले यो कुरा पार्टनरसँग साझा गर्नुपर्छ। – आलोचना गर्नुको सट्टा भाबनात्मक साथ र समर्थन दिन आवश्यक छ। सकारात्मक व्यवहारले आत्मविश्वास बढाउन मद्दत गर्छ। – स्वस्थ जीवनशैली अपनाउनु पनि महत्त्वपूर्ण छ। नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राले शरीर र मन दुवैलाई स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ। – पार्टनर सँगै हिँड्ने, व्यायाम गर्ने वा स्वस्थ खानपानको बानी बसाल्नेले सम्बन्धलाई पनि मजबूत बनाउन सक्छ। – यदि तनाव, डिप्रेसन वा आत्मविश्वास सम्बन्धी समस्या गहिरो छ भने मनोपरामर्श लिनु लाभदायक हुन्छ। अन्तर्राष्ट्रिय अध्ययनहरूले मोटोपना र सम्बन्धबीच स्पष्ट सम्बन्ध भएको देखाएका छन्। अत्यधिक मोटोपना भएका व्यक्तिमा आत्मविश्वास कम र सम्बन्धप्रति असन्तुष्टि बढी हुने सम्भावना हुन्छ। अनुसन्धानहरूले नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउने दम्पतीमा सम्बन्ध सन्तुष्टि बढी हुने संकेत गरेका छन्।