बेलायतको स्थानीय निर्वाचनमा रिफर्म यूकेको उदय, नेपाली मूलका उम्मेदवारहरूको उल्लेखनीय सफलता

२६ वैशाख, लन्डन । बेलायतका तीन क्षेत्रहरू इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा बिहीबार सम्पन्न स्थानीय निर्वाचनको मतगणना परिणाम अप्रत्याशित रूपमा देखिएको छ। १३६ स्थानीय परिषदहरूमा जम्मा ५ हजार १४ सिटका लागि भएको निर्वाचनमा नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले बलियो अग्रता बनाएको छ। रिफर्म यूकेको दल संयुक्त अधिराज्यको दक्षिणपन्थी लोकप्रियतावादी र अति-दक्षिणपन्थी राजनीतिक दल हो, जसले आप्रवासीहरू प्रति कडा र अनुदार नीति लिन्छ। शुक्रबार मध्यरातसम्मको नतिजाअनुसार, रिफर्म यूकेले १४२८ सिट जितेको छ, सत्तारुढ लेबर पार्टी ९५५ सिटमा सीमित भएको छ भने लिबरल डेमोक्र्याटहरूले ८३२, कन्जरभेटिभहरूले ७७३ र ग्रीन पार्टीले ५०८ सिट जितेका छन्। मतगणना अझै जारी रहेको छ। यस नतिजाले प्रधानमन्त्री कीयर स्टारमर नेतृत्वको लेबर पार्टीलाई ठूलो झटका पुर्याएको छ। स्टारमरले हारको जिम्मेवारी बहन गरेका छन्। लेबर पार्टीले इंग्ल्याण्डमा एक हजारभन्दा बढी काउन्सिलर पद गुमाएको छ र वेल्स सेनेड चुनावमा ऐतिहासिक हारपछि प्रधानमन्त्री स्टारमरमाथि आफ्ना केही सांसदहरूले राजीनामा दिन दबाब दिएका छन्। आगामी चुनावमा पनि प्रधानमन्त्री पदमा रहन चाहिने प्रश्नमा स्टारमरले भने, ‘हो, म पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएको छु र पूरा गर्न चाहन्छु।’
अर्कोतर्फ, रिफर्म यूकेका नेता नाइजेल फराजले पूर्वी लन्डनमा पत्रकारहरूसँग कुराकानी गर्दै इंग्ल्याण्डको मत परिणामले ‘वास्तविक ऐतिहासिक परिवर्तन’ देखाएको बताएका छन्। एसेक्सको चेल्म्सफोर्डमा फराजले बेलायतमा ‘मतदानको तरिकामा साँच्चिकै ऐतिहासिक परिवर्तन’ प्रतिबिम्बित भएको बताए। उनको पार्टीले १४ सय बढी काउन्सिलर पदहरू जितेको छ। मिडल्याण्ड्स, उत्तर पूर्व र उत्तर पश्चिम क्षेत्रमा रिफर्म यूकेले पहिलेको लेबरको किल्लालाई भत्काएको छ। यो स्थानीय निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमा पनि नयाँ बहस सुरु गरेको छ। रिफर्म यूकेको उदय, लेबरको अपेक्षाकृत कमजोर प्रदर्शन र कन्जरभेटिभको निरन्तर दबाबबीच यो निर्वाचन ब्रिटिश राजनीतिक परिदृश्यमा महत्वपूर्ण मानिएको छ। वेल्समा पनि सत्तारुढ लेबरले नराम्रो पराजय भोगेको छ; यहाँ लेबरले २७ वर्षदेखि कायम गरेको पकड गुमाएको छ। उता, स्कटिस नेशनल पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ। स्कटल्याण्ड र वेल्सका मतदाताहरूले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि चयन गर्नेछन् भने इंग्ल्याण्डका विभिन्न काउन्सिलमा काउन्सिलर र मेयरहरू चयन हुनेछन्।
नेपाली मूलका उम्मेदवारहरूको उपस्थितिले पनि राम्रो छाप छोडेको छ। लगभग डेढ दर्जन बढी नेपाली मूलका उम्मेदवारहरू मध्ये धेरै काउन्सिलर पदमा निर्वाचित भएका छन् भने केही पराजित भए। सूचना अनुसार, लन्डनको रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लीन्डन वार्डबाट पूर्वमेयर जीत रानाभाट काउन्सिलर रूपमा निर्वाचित भएका छन्। रानाभाटले १६१० मत प्राप्त गरी जित हासिल गरेका हुन्। सन् २०२२ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका रानाभाटले यसअघि उक्त बरोको मेयर र उपमेयरको जिम्मेवारी निभाइसकेका छन्। त्यही बरोको एबिउड वार्डमा रानाभाटकी पत्नी गौमाया गुरुङ रानाभाट पनि पहिलोपटक काउन्सिलरमा निर्वाचित भएकी छन्। दुवै रानाभाट दम्पत्ती लेबर पार्टीका हुन्। अल्डरसटका रश्मोर बरो अन्तर्गत म्यानर पार्क वार्डमा जीव नारायण बेल्वासे र वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तरबहादुर गुरुङ काउन्सिलर पदमा निर्वाचित भएका छन्। कन्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे दोस्रोपटक काउन्सिलर बनेका हुन् भने लेबर उम्मेदवार गुरुङ पहिलो पटक निर्वाचित भएका हुन्।
लगभग २५ वर्षदेखि सामुदायिक सेवामा संलग्न बेल्वासेले स्थानीय प्रहरी, रश्मोर बरो काउन्सिल, सिटिजन्स एडभाइस ब्यूरो, रश्मोर भोलुन्टियर सर्भिसेज, रश्मोर फायर एण्ड रेस्क्यु सर्भिसेज र प्राइमरी केयर नेटवर्कजस्ता संस्थामा सेवा पुर्याएका छन्। ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष भइसकेका बेल्वासेले एनआरएनए यूकेमा पनि सक्रियता देखाएका छन्। रश्मोर भोलुन्टियर सर्भिसेज र ह्याम्पशायर शेरिफ अवार्डबाट सम्मानित बेल्वासे बीबीसी कम्युनिटी हिरो अवार्डको सर्ट लिस्टमा पनि परिसकेका थिए। त्यस्तै रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी उम्मेदवार प्रतिक्षा गुरुङ काउन्सिलरमा निर्वाचित भएकी छन्। उनी रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्न सफल भएकी छिन्। कन्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन्। पूर्व उपमेयर गुरुङले तेस्रो पटक काउन्सिलर चयन हुने पहिलो नेपाली आफू हुन भनी बताएका छन्। लेबर पार्टीका तर्फबाट पूर्व काउन्सिलर कमल गुरुङ पनि लन्डन बरो अफ बार्नेटको बन्र्टओक वार्डबाट पुनः काउन्सिलर निर्वाचित भएका छन्।
पराजित भएका उम्मेदवारहरू पनि धेरै छन्। स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका अन्य धेरै उम्मेदवार पराजित भएका छन्। रश्मोर भोलिङटन वार्डमा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार डा. विशाल गुरुङ दोस्रो प्रयासमा पनि सफल हुन सकेनन्। बेजिङस्टोकमा काउन्सिलर पदका लागि प्रतिस्पर्धा गरेका पूर्व डीएसपी शिवजी श्रेष्ठ पनि लेबर पार्टीबाट उम्मेदवार भएर पराजित भएका छन्। लन्डन ग्रीनवीच बरोमा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा उम्मेदवारी दिएका नरेन्द्र कंडेल र टम अधिकारी पनि पराजित भएका छन्। कंडेल प्लमस्टेड एन्ड ग्लीन्डन वार्डबाट पूर्व मेयर रानाभाटसँग प्रतिस्पर्धा गरेका थिए भने अधिकारी वुल्लीचबाट उम्मेदवार थिए। लन्डन हन्सलो बरोको फेल्थम नर्थमा कन्जरभेटिभ उम्मेदवार इन्द्रहाङ लिम्बू पनि पराजित भए। त्यस्तै, स्वीन्डनमा पनि कन्जरभेटिभ पार्टीकै उम्मेदवार ज्ञानप्रसाद गुरुङ हार्टिएका छन्।






