Skip to main content

युक्रेन-रुस युद्धमा ट्रम्पद्वारा तीन दिने युद्धविराम घोषणा

संयुक्त राज्य अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन बीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्। नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको स्मरण गर्न लाग्दा रुस र युक्रेनले आ-आफ्नो छुट्टै युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कामा लगाइरहेकै अवस्थामा ट्रम्पले यो घोषणा गरेका हुन्। तीन दिने युद्धविरामको क्रममा दुई देशबाट एक/एक हजार जना कैदी साटासाट गरिने ट्रम्पले बताएका छन्।

युद्धविराममा युक्रेनको संलग्नता पुष्टि गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस पनि यसमा सहमत भएको जानकारी दिएका छन्। त्यसअघि दुवैले एकअर्कामा आक्रमण जारी राखेका थिए भने मस्कोका मेयरले आफ्नो शहरलाई रातभरि ड्रोन हमलाको निशाना बनाइएको बताएका थिए। ट्रम्पले युद्धविरामका लागि पुटिन र जेलेन्स्कीको प्रशंसा गर्दै लेखेका छन्, “रुस र युक्रेन बीच मे ९, १० र ११ का दिन तीन दिने युद्धविराम हुने घोषणा गर्न पाउँदा म धेरै खुशी छु।”

पुटिनले विजय दिवस मनाउनु अघि मे ८ देखि ९ तारिखसम्म लागू हुने युद्धविराम घोषणा गरेका थिए। रुसले युक्रेनलाई चेतावनी दिएको छ कि मस्कोमाथि हमला भएमा किइभको केन्द्रमा “भीषण जबाफि क्षेप्यास्त्र हमला” गरिनेछ। यसपटक विजय दिवसको परेडमा सैनिक उपकरण प्रदर्शन गरिने छैन र मस्कोमा उच्च सुरक्षात्मक सतर्कता अपनाइएको छ।

अमेरिकाले रुस र युक्रेन बीच वार्ताको मध्यस्थता गरिसकेको छ, तर ती वार्ताले अहिलेसम्म ठोस नतिजा निकाल्न सकेका छैनन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन् कि अमेरिका अझै पनि वार्ता गराउन तयार रहेको तर वार्तामा प्रगति नहुँदा समय नष्ट नगर्ने बताएका छन्।