Skip to main content

धरानमा ब्राउन सुगरसहित तीन जना पक्राउ

२६ वैशाख, सुनसरी। ब्राउन सुगरको अवैध कारोबार गरेको आरोपमा प्रहरीले धरानबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीनगरपालिका–४ बांसखर्कका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलान्चोक नगरपालिका–३ ठांटीका २२ वर्षीय समिर दियाली र झापाको विराटमोद नगरपालिका–६ नयाँ बसपार्कका २८ वर्षीय क्षितिज भण्डारी रहेका छन्।

कोशी प्रदेश कार्यालय विराटनगर पीआईटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति एक होटलको कोठा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले साथबाट ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। उनीहरुलाई धरान नगरपालिका–९ बगैचालाइनस्थत रत्न इन होटलको कोठा नम्बर ७ बाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेकाहरुले ब्राउन सुगर कारोबारमा प्रयोग गरेका बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरका मोटरसाइकल पनि बरामद गरिएको छ।