अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लुको संक्रमण, ५० लाख रुपैयाँभन्दा बढीको क्षति

२६ वैशाख, वीरगञ्ज (पर्सा) । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीहरूमा बर्डफ्लुको संक्रमण देखिएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। गत चैत महिनाको अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छीहरू र तिनीहरूको आहार नष्ट गर्नुपरेको हो। राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता यहाँ पालिएका पन्छीहरूमा बर्डफ्लु पुष्टि भएपछि करिब रु ४५ देखि ५० लाखको आर्थिक नोक्सानी परेको बताए।
‘टर्की जातका पन्छीमा बर्डफ्लु देखिएपछि क्रमशः फार्ममा पालिएका अन्य प्रजातिका पन्छीहरूमा पनि संक्रमण देखिएपछि सबै नष्ट गर्नुपर्यो’, उनले भने, ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर यहाँ पालिएका पन्छीहरू, अण्डा र दाना समेत नष्ट गरेका छौँ।’ बर्डफ्लुको संक्रमणका कारण करिब दुई हजार कुखुराको चल्ला, करिब १२ सयको हाराहारीमा गिरीराजलगायतका कुखुराको प्रजाति, ३३ वटा तित्रा, ४७ वटा सेतो/कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको कार्यालयले जनाएको छ। त्यस्तै एल वान दाना ८३५ किलोग्राम, एलटु दाना ४५५ किलोग्राम र एलथ्रि दाना एक हजार ८३५ किलोग्राम नष्ट गरिएको छ। सूचना अधिकारी प्रजाले बर्डफ्लु देखिएको फार्ममा अहिले चुना छर्किने, मल हाल्ने र आगोको तापले पोल्ने जस्ता निर्मलीकरणका कामहरू भइरहेको बताए। ‘कार्यालयले यसअघि कृषकहरूलाई उपलब्ध गराएको विभिन्न प्रजातिका पन्छी ल्याउने पनि प्रयास गरिरहेको छ’, उनले भने, ‘राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पोखरा र नेपालगञ्जमा रहेका कार्यालयहरूबाट आवश्यक पन्छी तथा अण्डा ल्याएर पुनः सञ्चालन गर्ने तैयारीमा छौँ।’






