Skip to main content

सपना र यथार्थ: रंगमञ्चको वास्तविकता

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञसभा सदस्यको रूपमा भित्रबाट देखिएको सरकारी संरचनागत कमजोरी र कलाको अवमूल्यनको यथार्थ प्रस्तुत गरिएको छ। वि.सं. २०७९ साल फागुन महिनामा जब मेरो काँधमा चार वर्षका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यको जिम्मेवारी आयो, त्यो केवल एउटा पदको प्राप्ति मात्र थिएन। मेरो लागि त्यो रंगमञ्चमा बगाएको पसिना र सञ्चित सपनाको नयाँ परीक्षा थियो। रंगकर्मी र नाटककारका रूपमा बाहिरबाट प्रतिष्ठानलाई हेर्दा जुन कल्पना गरिन्थ्यो, भित्र प्रवेश गरेपछि ती भ्रमका पर्दाहरू एक–एक गर्दै खुल्न थाले। बाहिर देखिने भव्य सरकारी संरचना र भित्रको कार्यशैलीबीच ठूलो भिन्नता रहेछ भन्ने तीतो यथार्थबोध हुन धेरै समय लागेन।

सत्ताको सोचमा कला र कलाकारको मूल्य अत्यन्त सस्तो रहेको कुरा बुझ्न धेरै समय लागेन। जब सरोकारवाला निकायका विभागीयहरूसँग संवाद र प्रशासनिक फाइलहरूमा ठोक्किन्छ, तब मात्र वास्तविक यथार्थ देखिन्छ। राज्यको नजरमा कला अझै पनि अनुत्पादक क्षेत्र र देखावटी गहना भन्दा माथि उठ्न सकेको छैन। बाहिर हुँदा हामी सोच्दछौं– एउटा दृढ निर्णयले सबै परिवर्तन हुन्थ्यो, एउटा सही योजनाले कलाकारको आँसु पुछिन्थ्यो। तर भित्र छिरेपछि देखिन्छ– त्यहाँ सिर्जनाभन्दा बढी कार्यविधिको जटिल जाल र कर्मचारीतन्त्रको कागजी गन्ध व्याप्त छ।

हाम्रा कतिपय मौलिक लोक धुनहरू लोप भइरहेका छन्, कतिपय नाट्य शैलीहरू अन्तिम सास फेर्दै छन्। तर ती अमूल्य सम्पदा जोगाउन एउटा सुविधायुक्त हलसम्म नहुनुको पीडा कति भयानक छ, त्यो केवल त्यही कुर्सी र जिम्मेवारीमा बसेर मात्र बुझ्न सकिन्छ। रंगकर्मीको भोक र प्यास बुझेर आएको मान्छेलाई आफ्नो आँगनमा सिर्जनाको हत्या हुँदै र बजेट खर्च कर्मकाण्डमा सकिँदै गर्दा मुटु गाँठो हुन्छ। साँच्चिकै, सरकारी संरचनाका यी पर्खालहरू यति बाक्ला र चिसो छन् कि यहाँभित्र कलाकारको संवेदना र सिर्जनाको तातोपन पुग्नै कठिन छ।