गगन थापा: प्रदेश सरकार गठनमा कांग्रेस र एमालेबाहेक अन्य समीकरण बन्ने सम्भावना छैन

२६ वैशाख, धनगढी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनको विषयमा कांग्रेस र एमाले बाहेक अन्य कुनै समीकरण बन्ने सम्भावना नरहेको बताएका छन्। कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’मा सम्बोधन गर्दै उनले प्रदेश सरकारसम्बन्धी अनावश्यक भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन्।
अहिले ६ प्रदेशमा कांग्रेस र एमालेबीचको समझदारीमा सरकार कार्यरत रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन या सरकार सञ्चालन सम्बन्धी विषय दुई दलबीच नै छलफल हुने बताए। ‘हामी प्रदेश निर्वाचनको तयारीलाई अन्तिम चरणमा छौं। अहिले कांग्रेस र एमालेबीच संयुक्त सरकार छ। त्यस भित्र नेतृत्व आउने-जाने या सरकार सञ्चालनसम्बन्धी समझदारी कांग्रेस र एमालेबीचकै छलफलका विषय हुन्। कांग्रेस र एमालेबाहेक अर्को सरकार बन्ने भन्ने भ्रममा नपर्नुहोस्,’ उनले भने।
सभापति थापाले मधेश प्रदेशमा हाल कायम सत्ता समीकरण निरन्तरता पाउने कुरामा पनि स्पष्टता दिएका छन्। उनका अनुसार मधेश प्रदेशमा कांग्रेस, माओवादी र मधेशकेन्द्रित दलहरुको सम्मिलित सरकार यथावत् रहिरहनेछ। ‘हामी मधेशमा माओवादीसहितका मधेशकेन्द्रित दलहरूसँग संयुक्त सरकारमा छौं,’ सभापति थापाले भने, ‘त्यहाँ अहिले रहेको अवस्था अनुसार सरकार अघि बढ्नेछ।’ साथै, उनले कांग्रेस र एमालेबीच सरकारको नीति, कार्यक्रम, बजेट र नेतृत्व सहितका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए। प्रदेश सरकारसम्बन्धी उपसभापति विश्वप्रकाश शर्माले पनि पार्टीको तर्फबाट उक्त छलफल गरिरहेको जानकारी सभापतिले दिएका छन्।






