Skip to main content

मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थअनुकूल भइरहेको बताएका छन्

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थअनुकूल हुँदै गएको बताएका छन्। काठमाडौंमा आयोजित संविधान संशोधन सम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा शासक वर्गका निहित स्वार्थ र सत्ता टिकाइराख्न गरिएको चालबाट प्रेरित भएको आरोप लगाए। २६ वैशाख, काठमाडौं।

महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनु पर्नेमा जोड दिँदै वर्तमान सरकारले फासिस्ट स्वरूपलाई संस्थागत बनाउन संशोधनको बाटो रोजेको दाबी गरे। संविधान संशोधन नेपालकै आन्तरिक विषय भए तापनि यस प्रक्रियामा विदेशी शक्तिहरूको हस्तक्षेप देखिनु अवाञ्छित र गम्भीर रहेको उनको भनाइ छ।

सिंहले नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको उल्लेख गरे। उनले भने, ‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थअनुसार कानुन बनाउने गर्छन्। अहिलेको सरकारले फासिस्ट रूप लिंदै गएको छ र त्यसलाई पूर्णता दिन संविधान संशोधन गरिन लागिएको होइन भन्ने गम्भीर प्रश्न उठेको छ।’