
बुटवलमा एक अर्ब ११ करोडमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र करिब एक अर्बको प्रदर्शनी केन्द्रले बुटवललाई माइस टुरिजम हब बनाउन ठूलो सम्भावना देखिएको छ। बुटवलमा दुई केबलकार, मणिमुकुन्द सेन उद्यान, जितगढी, हिलपार्क र शङ्करनगर वन विहारले माइस टुरिजमका लागि बलियो आधार तयार पारेका छन्। पर्यटन मन्त्री न्यौपानेले यी पूर्वाधारले बुटवललाई माइस टुरिजमको प्रमुख गन्तव्य र लुम्बिनी प्रदेशको पर्यटन र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने बताएका छन्।
बुटवलमा निर्माण भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र दुईवटा केबलकार जस्ता प्रशस्त पर्यटकीय पूर्वाधारहरूले यहाँ ठूलो सम्भावना बोकेको ‘माइस टुरिजम हब’ विकास हुने देखिएको छ। बुटवल सम्मेलन केन्द्र काठमाडौँ बाहिरको पहिलो अन्तर्राष्ट्रिय स्तरको सम्मेलन स्थल हो। बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ विगहा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल समेटिएको छ।
यी पूर्वाधारले पुरै बुटवललाई ‘माइस टुरिजम’ को केन्द्रका रूपमा विकास गर्नेछन्। बुटवलमा लुम्बिनी र सिद्धार्थ गरी दुई केबलकार पनि सञ्चालनमा छन् जुन माइस टुरिजमका लागि नयाँ पर्यटकीय गन्तव्य बनेका छन्। नेपालमा एउटै शहरमा दुई केबलकार रहेको बुटवल मात्र हो।
माइस टुरिजम भनेको विभिन्न संस्था, कम्पनी वा सरकारद्वारा आयोजना गरिने बैठक, भ्रमण, सम्मेलन तथा प्रदर्शनीसँग सम्बन्धित चार अंग्रेजी शब्दहरूको संक्षिप्त रूप हो। नेपालमा माइस टुरिजमको चर्चा व्यापक नभए पनि पर्यटन व्यवसायीहरूले यसको ठूलो सम्भावना देखेका छन्। बुटवललाई आधार बनाएर पर्यटकहरू लुम्बिनी, पोखरा, पाल्पा, गुल्मी लगायतका गन्तव्यतर्फ पुर्याउने भएकाले समग्र क्षेत्रमा पर्यटन प्रवद्र्धन हुने भएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले बताएका छन्।






