
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य नजिक पुगेको बताएका छन्। तर उनले स्थायी शान्ति सम्झौतापछि मात्र आफ्नो युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने स्पष्ट पारेका छन्। तात्कालिक सोभियत सङ्घले नाजी जर्मनीमाथि विजय हासिल गरेको सम्झनामा धेरै वर्षयता पहिलो पटक सीमित रूपमा आयोजना गरिएको विजय दिवस परेडपछि क्रेम्लिनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले यो अभिव्यक्ति दिएका हुन्। रुसले द्वितीय विश्वयुद्धमा नाजी जर्मनीविरुद्ध तात्कालिक सोभियत सङ्घको विजयको सम्झनामा हरेक मे ९ तारिख राष्ट्रिय बिदा मनाउने गरेको छ।
परेडमा उपस्थित बीबीसीका एक सम्पादकका अनुसार यस पटक त्यहाँ कुनै ट्याङ्क वा अन्य सैन्य उपकरण थिएनन्, जुन सामान्यतया क्रेम्लिनले अन्तर्राष्ट्रिय मञ्चमा रुसी शक्ति प्रदर्शन गर्ने उद्देश्यले देखाउने गर्छ। यसपालि फरक देखियो। रेड स्क्वायरमा आयोजित विजय दिवस परेडमा उपस्थित बीबीसीका रुस मामिला सम्पादक स्टिभ रोजेनबर्गले यस पटक फरक महसुस भएको बताएका छन्। “यस वर्षको संस्करण एकदम फरक थियो। अघिल्ला वर्षहरूमा सेन्ट बेसिल क्यामथ्रिडल नजिक मिडिया बसबाट दौडेर प्रेसका लागि मिलाइएको स्थानमा बस्न ठाउँ खोज्नुपर्थ्यो,” उनले भने।
रुस र युक्रेनले शनिवारदेखि सुरु भएको तीन दिने युद्धविरामको उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाएका छन्। कुनै ठूलो आक्रमणको विवरण नआएको भए पनि रूसी गणतन्त्र चेचेन्यामा युक्रेनी ड्रोन हमलामा छ जना घाइते भएका छन्। रुसमै अन्य ड्रोन हमलामा कम्तीमा तीन जना घाइते भएका छन्। अर्कोतर्फ, युक्रेनमा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका थिए। तीन दिने युद्धविरामको अवधिमा दुवै देशबीच एक/एक हजार जना कैदीहरूको साटासाट हुने पनि उनले उल्लेख गरेका थिए।
युद्धले रुसको अर्थतन्त्रमा पनि गम्भीर प्रभाव पारेको छ।






