बंगलादेशविरुद्धको टी–२० शृंखलामा म्याक्सवेल र स्टोइनिसको अनुपस्थिति, अस्ट्रेलियाले टोली घोषणा गर्यो

अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा बंगलादेशविरुद्धको टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ। पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि आरोन हार्डीलाई पुनः टोलीमा समावेश गरिएको छ। युवा जोएल डेभिस पहिलो पटक टी–२० टोलीमा परेका छन्, तर ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस टोलीमा छैनन्।
२८ वैशाख, काठमाडौं। बंगलादेशविरुद्ध आयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली सार्वजनिक गरिएको छ। कप्तानका रूपमा मिचेल मार्श तोकिएका छन्। टोलीमा आरोन हार्डीको पुनरागमन रहेको छ। पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शनपछि उनलाई फेरि राष्ट्रिय टोलीमा समावेश गरिएको हो। साथै, युवा खेलाडी जोएल डेभिसले पहिलो पटक टी–२० टोलीमा स्थान पाएका छन् भने, तीव्र गतिका बलर स्पेन्सर जोन्सन पनि टोलीमा फर्किएका छन्।
तर, अनुभवी खेलाडी ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस टोलीमा समावेश भएका छैनन्। यी दुवै खेलाडीले पहिले नै एकदिवसीय क्रिकेटबाट सन्यास लिइसकेका छन्। स्टिभ स्मिथ पनि टी–२० टोलीमा छैनन्। पछिल्लो पटक म्याक्सवेल र स्टोइनिसलाई अस्ट्रेलियाको सेन्ट्रल कन्ट्र्याक्टमा राखिएको थिएन र टी–२० विश्वकपमा पनि यी दुईको प्रदर्शन प्रभावकारी थिएन।
बंगलादेशविरुद्धको अस्ट्रेलियाको टी–२० टोली: मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कुपर कोनोली, टिम डेभिड, जोएल डेभिस, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, ट्राभिस हेड, जोश इङ्ग्लिस, स्पेन्सर जोन्सन, म्याथ्यु कुनेमन, राइली मेरिडिथ, जोश फिलिप, म्याथ्यु रेन्श, एडम जाम्पा।






