Skip to main content

सरकारले राष्ट्रिय सरसफाइ सप्ताहको घोषणा गर्‍यो

सरकारले २८ वैशाखदेखि ८ जेठसम्म देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले वीर अस्पतालमा सरसफाइ अभियानको शुभारम्भ गरेकी छन्। सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सरसफाइसँगै सूचना बोर्ड र भित्ताहरूको मर्मत तथा रङरोगन गरिनेछ। २८ वैशाख, काठमाडौं। सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्न देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ। अभियानको सोमबार वीर अस्पतालमा सरसफाइ गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुभारम्भ गरेकी हुन्। सरकारले सोमबारदेखि ८ जेठसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाइलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। वीर अस्पताल देशकै पुरानो र सबैभन्दा बढी सेवाग्राही चाप रहेको अस्पताल भएकाले यहीँबाट सरसफाइ अभियान सञ्चालन गरेको उनले जानकारी दिइन्। सरसफाइसँगै अब सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरी मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने जनाइएको छ।