
राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमै सार्वजनिक गरेको छ। यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थीहरूले ग्रेड प्राप्त गरेका छन्। ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ जनाले जीपीए ३.६० देखि ४.०० सम्म ल्याएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले वृद्धि हो। बोर्डले असार १ देखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने र १ जेठदेखि ७ गतेसम्म पुनर्योग समय तोकेको छ।
२०८१ सालको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरेका थिए। यस वर्ष जीपीए ३.२० देखि ३.६० सम्म ल्याउनेहरूको संख्या ८० हजार ३७२ रहेको छ। २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीहरूको संख्या ९४ हजार २२२ छ भने ५५ हजार ९७७ ले २.४० देखि २.८० को जीपीए प्राप्त गरेका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले नतिजा ३० दिन भित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो, जुन २९ दिनमै पूरा भएको छ।” यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारणले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको उनले बताए।
प्राध्यापक डा. विद्यानाथ कोइरालाले नतिजामा सुधारका तीन प्रमुख कारणहरु देखाएको बताए। उनले भने, “धेरै विद्यालयले विद्यार्थीलाई तीन महिनासम्म विद्यालयमै राखेर पढाएका छन् र खाने बस्ने व्यवस्था पनि विद्यालयमै गरिएको छ। दोस्रो, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको छ।” असार १ देखि ९ गतेसम्म असफल विद्यार्थीका लागि पुरक परीक्षा सञ्चालन हुनेछ।






