सरकारले ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गर्ने, ‘तीर्थ कूटनीति’मार्फत धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने

२९ वैशाख, काठमाडौं । सरकारले नेपाललाई विश्वकै आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ नामक राष्ट्रिय अभियान संचालन गर्ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस विषयमा स्पष्ट उल्लेख गरिएको छ।
यस अभियानअन्तर्गत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रका पर्यटन केन्द्रहरूलाई प्रवर्द्धन गरिने छ। ‘तीर्थ कूटनीति’ मार्फत नेपालका प्रमुख धार्मिक क्षेत्रहरूको पर्यटन प्रवर्धन गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ। धार्मिक, साँस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक र अवकाश पर्यटनका रूपमा यसलाई उदाउँदो गन्तव्य बनाउन प्राथमिकता दिइनेछ।
होमस्टेका माध्यमबाट रोजगारी सिर्जना गरिनेछ। समुदायले सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमांतकृत तथा दलित समुदायको आयआर्जन वृद्धिका लागि रोजगारीको व्यवस्था गरिने जानकारी दिइएको छ। जीवित सङ्ग्रहालय अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टे ‘नेपाल होमस्टे’ ब्राण्डिङसहित बुकिङ प्लेटफर्मसँग जोडिने प्रवन्ध नीति तथा कार्यक्रममा समेटिएको छ।






