Skip to main content

सुदूरपश्चिममा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा दुईवटा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन्। धनगढी उप महानगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा रहेकोले सञ्चालनमा ढिलाइ भएको छ। शुक्लाफाँटा नगरपालिकाले रु ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। २९ वैशाख, महेन्द्रनगर।

कञ्चनपुर र कैलालीका यी फोहरमैला व्यवस्थापन केन्द्रहरू क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालनमा आएका हुन्। कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा यी केन्द्रहरू सञ्चालनमा आइसकेका छन्। संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले धनगढी उप महानगरपालिकामा रहेको फोहरमैला व्यवस्थापन केन्द्र पनि छिट्टै सञ्चालनमा आउने दाबी गरेका छन्।

धनगढी उपमहानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्र निर्माण पक्षले समयमै पूरा गरे पनि सञ्चालनमा आउन सकेको छैन। रु एक अर्ब नौ करोड लगानी अनुमान गरिएको उक्त व्यवस्थापन केन्द्र ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ भएको हो। खर्वुजाले भने, ‘फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो।’

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्रबाट ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सकिनेछ। चीनको सिचुवान प्रान्तको जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर काम तोकिएको समयमा सम्पन्न गरेको हो। शुक्लाफाँटा नगरपालिकाले रु ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको छ। शुक्लाफाँटा नगरपालिका–११, श्रीकृष्ण सामुदायिक वन क्षेत्र (वनहरा खोलाको पश्चिम किनार) मा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ।

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपनि शुक्लाफाँटा नगरपालिकाले सरसफाइमा विशेष जोड दिइरहेको छ। शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले फोहरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारी रुपमा भइरहेको बताए। ‘सबै वडामा फोहर राख्ने कन्टेनर राखिएको छ,’ उनले भने, ‘सहरी वडाबाट दैनिक रूपमा फोहर संकलन गरी व्यवस्थापन केन्द्रमा लैजाने काम भइरहेको छ.’